• Wednesday 9th of September 2026

शिक्षकका समस्या समाधानका लागि नियमावली संसोधन हुन्छ : मन्त्री पौडेल


  • आशाका किरण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि शिक्षा नियमावली संसोधनको तयारी भइरहेको बताउनुभएको छ ।

बुटवलमा रहेको कान्ति माविको ६८औँ वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उहाँले स्थानीयस्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यही महिनामा नै शिक्षक सेवाबाट स्थायीरूपमा शिक्षक परिपूर्ति गर्न लागिएको बताउनुभयो । बढी विद्यार्थी भएको स्थानमा सबैभन्दा बढी शिक्षक दरबन्दी सृजना गरिने र कम भएको स्थानबाट कटौतीसमेत गरिने उहाँँको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षक तथा कर्मचारीको साझा मन्त्रालय रहेको भन्दै मन्त्री पौडेलले शिक्षकका समस्या समाधानका लागि महासङ्घको आग्रहमा विभिन्न काम सरकारले अगाडि बढाएको बताउनुभयो । उहाँले यही वर्षमा शिक्षकका लागि केन्द्रीयस्तरको अस्पताल निर्माणका लागि सरकारले काम अगाडि बढाएको जानकारी गराउँदै यसै वर्षदेखि अस्पताल निर्माणको काम सुरु हुने बताउनुभयो ।

मन्त्री पौडेलले प्रदेश प्रदेशमा एउटा नमूना विद्युतीय पुस्तकालय स्थापनका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । कान्ति मावि नेपालमा विज्ञान विषयका लागि नमूना बनेकोे भन्दै मन्त्री पौडेलले विद्यालयको भवनसहितको भौतिक पूर्वाधार निर्माणका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले शिक्षक दरबन्दी कमी हुँदा विद्यार्थीको चाप थेग्न समस्या भएको बताउनुभयो । विद्यार्थीको सङ्ख्याका आधारमा शिक्षक दरबन्दी मिलान गरिदिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, शिक्षा सामाजिक विकास निर्देशनलयका प्रमुख मनोजकुमार गैरे, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, बुटवल उपमहानगरालिका उपप्रमुख गुमादेवी आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मालगायतले शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

समारोहमा कान्ति दर्पण नामक स्मारिका विमोचन गरिनुका साथै उत्कृष्ट नतिजा प्रदान गर्ने शिक्षक तथा प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै दीर्घसेवा सम्मानबाट शिक्षक पूर्णभद्र उपाध्यायलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij