• Wednesday 9th of September 2026

डोटीमा कुष्ठरोगी थपिए


  • आशाका किरण

जिल्लामा कुष्ठरोगीको सङ्ख्या १२ पुगेको छ । जिल्लामा बर्सेनि कुष्ठरोगी थपिँदै जान थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डोटीमा गत वर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँचमा कुष्ठरोग देखिएको हो । आर्थिक वर्ष २०७७÷७८ को सुरुमै जिल्लामा पाँच नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अधिकृत महेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै गएको छ, जिल्लामा कुष्ठ रोग अन्त गर्नमा समस्यासहित चुनौती थपिएको छ ।”

स्वास्थ्य कार्यालयका अनुसार नयाँ फेला परेका कुष्ठरोगीमा जोरायल गाउँपालिकामा एक, शिखर नगरपालिका एक, दिपायल सिलगढी नगरपालिकामा तीन छन् । जिल्लामा कुष्ठरोगसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदै आए पनि यहाँका गाउँघरमा कुष्ठरोगी अझै लुकीछिपी बस्ने गरेका कारण यहाँको कुष्ठरोग अन्त हुन नसकेको चिकित्सक बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार जिल्लामा दुई वर्ष यतादेखि कुष्ठरोगीको सङ्ख्या थपिँदै गएको पाइएको छ । गत वर्ष जिल्लाका केआइसिंह गाउँपालिकामा एक, शिखर नगरपालिकामा दुई, पूर्वीचौकी गाउँपालिकामा एक, दिपायल सिलगढी नगरपालिकामा दुई र बडिकेदार गाउँपालिकामा एक कुष्ठरोगका बिरामी फेला परेका थिए।

जिल्लाका विभिन्न स्थानमा चर्मरोगसम्बन्धी विभिन्न शिविर सञ्चालन गरेका कारण अहिले कुष्ठरोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिनुभयो । कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका नौवटै स्थानीय तहमा बिरामी पहिचानका लागि ‘स्क्रिनिङ क्याम्प’ गर्ने योजना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो । नेपाल सरकारले कुष्ठरोगमुक्त नेपालको परिकल्पना गर्दै सन् २०२० मा कुष्ठरोग प्रकोप दर प्रतिदश हजारमा एकभन्दा कम गर्ने लक्ष्य राखे पनि डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेपछि उक्त लक्ष चुनौतीका रुपमा लिइन थालिएको छ ।

बिरामीको ससम्मान स्वास्थ्योपचार गर्ने वातावरण सिर्जनाका लागि चेतनामूलक अभियान सञ्चालन भइरहेकाले रोगीले पनि रोग लुकाउन नहुँने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “कुष्ठरोग नियन्त्रणका लागि हामी प्रयासरत छौँ, कुष्ठरोगीले रोग लुकाउनुभएन ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij