• Saturday 25th of July 2026

२८ हप्तामै जुम्ल्याहा बच्चाः स्वस्थ्य भई घर फर्के


  • आशाका किरण
Baby feet of twins.

गर्भवती भएको २८ हप्तामै कम तौलका जन्मिएको जुम्ल्याहा बच्चाको स्वास्थ्य अवस्था समान्य

अत्यधिक पीडा भएर प्रसूतिका लागि गत मङ्सिर २० गते विराटनगरको गोल्डेन अस्पतालमा भर्ना भएकी मोरङ सुनवर्षी नगरपालिकाका सीमा बस्नेतलाई कम तौलको जुम्ल्याहा बच्चा जन्मिएको थियो । समय नै नपुगी कम तौल भएर जन्मिएका जुम्ल्याहा बच्चा चिकित्सकको अथक प्रयास र अस्पतालको राम्रो रेखदेख पाएर स्वस्थ्य भएर घर फर्केका छन् ।

“बस्नेतले नर्मल तरिकाले जुम्ल्याहा बच्चा जन्माइन् । दुबै बच्चाको तौल असमान्य थियो । एकको तौल ९०० ग्राम र अर्कोको तौल ७०० ग्राम थियो । यस्तो अवस्थाका बच्चालाई बचाउन निकै चुनौती हुन्छ”, बाल रोग विशेषज्ञ डा सतिश यादवले भन्नुभयो, “तर अस्पतालका चिकित्सकको अथक प्रयासले बच्चा बचाउन सफल मात्र होइन, बच्चाको तौल पनि बढाउन सफल भयो ।” पहिलो ९०० ग्रामको बच्चा एक किलो १०० ग्राम र आफ्नै मुखले दूध खान थालेपछि उनलाई १० दिनपछि आमासँगै घर पठाइएको उहाँको भनाइ छ । अर्को ७०० ग्राम तौलको बच्चालाई अस्पतालले सघन उपचार कक्षामा राखेर उपचार गरिरहेको बच्चाको उपचारमा सलग्न बाल रोग विशेषज्ञ डा यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ती बच्चामा स्वासप्रस्वाश, मुटु र मिर्गौलाको समस्या देखियो तर उपचार गर्दै जाँदा बच्चा पूर्णरुपमा स्वस्थ्य भए । अहिले बच्चाको तौल ९०० ग्राम पुगेको छ र स्वस्थ्य पनि छ, त्यसैले आज घर पठाउने सल्लाह गरिरहेको छु ।”

उहाँले अस्पतालकै जस्तो सेवा र सुविधा घरमा पक्कै पनि नहोला तर बच्चा र आमा दुबै स्वस्थ्य भएकाले कुनै समस्या नआउने बताउनुभयो । केही समस्या देखिएमा तुरुन्तै अस्पताल आउन सुझाव दिएको आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

“अस्पतालमा प्रसूति गराउँदा बस्नेतलाई रु छ लाख ५० हजार खर्च भएको र तीमध्ये उनले रु तीन लाख मात्र खर्च व्यहोरेको छ”, अस्पताल सञ्चालक समितिका सदस्य सदानन्द मण्डलले भन्नुभयो, “बाँकी रकम अस्पतालले मिनाहा गरेको छ ।” उहाँले बच्चाको हजुरआमा मीरा बस्नेतलाई अस्पतालले जिम्मा लगाउने तयारी गरिरहेको जानकारी दिनुभयो । हजुरआमा बस्नेतले समय नपुगी जन्मिएको बच्चा र आमा दुबैलाई अथक प्रयास गरेर जिवन दिएकोमा अस्पताललाई धन्यवाद दिदैं खुशी व्यक्त गर्नुभयो ।

सो अस्पतालमा पहिलो पटक मिर्गाैलाको डाइलोसिस भएको थियो भने अहिले न्यूरो सर्जरीसम्म हुने भएकाले यसक्षेत्रका मानिसलाई निकै सहुलियत र सहज भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij