• Saturday 25th of July 2026

शहरमा भन्दा गाउँमा कोरोनाको जोखिम बढी


  • आशाका किरण

पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनको आदेशमा यहाँका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नम्बर गण टोली परिचालन भएको छ । प्रहरी टोलीले यहाँका विभिन्न नाका तथा बजार क्षेत्रमा बिनाकाम हिँडडुल गर्न, घुम्न, जम्मा हुन तथा सभा–सम्मेलन गर्न निषेध गरेको छ ।

जिल्लाभरिमा प्रहरीले तपाईँको ‘मास्क खोइ’ अभियान नै सुरु गरी मास्क वितरण गर्नुका साथै मास्क लगाउन आग्रह गरेको छ । कोरोना भाइरस यहाँका बजारदेखि गाउँघरमा समेत फैलिँदै गएपछि जिल्ला प्रशासनको निर्देशनमा यहाँका प्रहरी टोलीले बजार तथा गाउँघरमै गएर भए पनि तपाईँको ‘मास्क खोइ’ अभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो । उक्त अभियानमा प्रजिअ विष्ट आफैँ सहभागी हुने गर्नुभएको छ ।

यसैगरी प्रहरीले यहाँ सञ्चालन हुने सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई समेत मास्क तथा स्यानिटाइजर वितरण गर्न थालेको छ । उक्त अभियानअन्तर्गत प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई दिपायल पिपल्लाचोकमा रहेको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छाड्ने गरेको छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० पुगेको छ । रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नागरिक त्यहाँ कोरोना जोखिम बढेपछि अहिले आ–आफ्ना घर फर्किन थालेका कारण उनीहरुसँगै सङ्क्रमण भित्रिन थालेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामा सहर बजारभन्दा पनि गाउँमा सङ्क्रमित हुने बढेपछि स्थानीयवासीमा चिन्ता थपिएको शिखर नगरपालिका–१० का हरिलाल धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा कोरोनाबाट जोगिन कसैले पनि सुरक्षा रणनीति अपनाएको देखिँदैन, गाउँमा कोरोना फैलिए स्थिति भयावह हुने भन्दै स्थानीयवासीमा त्रास पैदा भएको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij