• Saturday 25th of July 2026

भरोसा बटुल्दै गाउँका स्वास्थ्य संस्था


  • आशाका किरण

गाउँ–गाउँमा जनचेतना बढेसँगै सुरक्षित रुपमा सुत्केरी हुनेको सङ्ख्या ह्वात्तै बढेको छ ।

यहाँका स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी हुन आउने महिलाको सङ्ख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । जनचेतनामा आएको वृद्धिसँगै सुरक्षित रुपमा सुत्केरी हुन र गर्भ जाँच गराउन स्वास्थ्य संस्थामा आउनेको सङ्ख्यामा वृद्धि भएको बताइएको छ ।

दुर्गममा क्षेत्रमा बसोबास गर्ने महिला गर्भवती हुँदा सुत्केरी हुने समय नजिकै आउँदा स्वास्थ्य संस्थाको पहुँच हुने ठाउँमा अस्थायी रुपमा बसाइँ गरेर सुत्केरी सेवा लिने गरेको आफूले पाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । “हामीले गर्भवतीलाई सुरक्षित रुपमा स्वास्थ्य संस्था ल्याउन र लिनका लागि एम्बुलेन्स सेवा समेत दिएका छौँ, आर्थिक रुपमा हैसियात हेरेर भाडा दरसमेत निर्धारण गरिएको छ”, उहाँले भन्नुभयो, “घर घर झण्डा, सुत्केरीलाई अण्डा कार्यक्रम सञ्चालन गरेर सुत्केरीको स्याहारसुसारमा थप ध्यानसमेत दिइएको छ ।”

जुम्लाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिकामा समेत स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको दर बढेको पाइएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहका अनुसार अघिल्लो दुई आर्थिक वर्षमा सत प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा आएर सुत्केरी भएका छन् । सुत्केरी तथा गर्भवतीलाई प्रोत्साहन थप व्यवस्था गर्दा नतिजा राम्रो आएको उहाँले बताउनुभयो ।

पश्चिमका छेडागाड, शिवालय र जुनिचाँद र कुशे गाउँपालिकामा सुत्केरी हुने अपेक्षा गरिएको भन्दा कमजोर रहेको छ । भेरी, नलगाड, बारेकोटमा भारी सुधार आएको बताइएको छ । स्वास्थ्य सेवा कार्यालयमा जाजरकोटमा सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ । गएको वर्ष २४१ महिला जिल्ला अस्पताल जाजरकोटमा सुत्केरी हुन आएका थिए ।

विस्तारै गाउँघरमा जनचेतना बढेसँगै स्वास्थ्यचौकी तथा अस्पतालमा गर्भवती तथा सुत्केरीले लिने सेवा बढ्दै गरेको पाइएको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई सरकारले दुई हजार दिने गरिएको छ । ८०० रुपैयाँ गर्भजाँच गरेमा दुई हजार प्रदेश सरकारले समेत थप पोषण भत्ता दिने गरेको छ । साथै अस्पतालबाट न्यानो झोलासमेत दिने गरिएको डाक्टर औंसर सिंह राठौरले जानकारी दिनुभयो ।

जिल्लामा ५० शय्याको अस्पतालको निर्माण कार्य अन्तिम चरण पुगेसँगै सेवा विस्तारको भारी अपेक्षा गरिएको छ । अस्पतालमा अक्सिजन पलान्टसमेत सञ्चालनमा आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij