• Wednesday 9th of September 2026

नेपालको स्वास्थ्य आपत्कालीन तयारीमा सघाउने डब्ल्युएचओको प्रतिबद्धता


  • आशाका किरण

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबाट शनिबार सम्पन्न नेपालको तीनदिने औपचारिक भ्रमण र त्यसक्रममा भएका छलफलबारे जानकारी दिनुभएको हो ।

नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्युएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न, अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका साथै नेपाली विज्ञहरूलाई अवसर एवं क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता महानिर्देशकले व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।

“महानिर्देशक टेड्रोसले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चासो लिँदै अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास, उपकरण र प्रशिक्षणमा सहयोग गर्ने अभिलाषा प्रकट गर्नुभएको छ”, डब्ल्युएचओका प्रतिनिधिमण्डलसमक्ष नेपालले प्रस्तुत गरेका विषयलाई उहाँले सकारात्मकरुपमा लिएर तिनलाई कार्यान्वयन गर्न आवश्यक कार्ययोजनासहितको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी मन्त्री खतिवडाले भन्नुभयो । राष्ट्रिय खोप कार्यक्रम, आपत्कालीन तयारी र प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउन डब्ल्युएचओले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको उहाँले जानकारी दिनुभयो । नेपालको स्वास्थ्य क्षेत्रको विकासमा डब्ल्युएचओले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij