• Wednesday 9th of September 2026

थप १३ मा सङ्क्रमण पुष्टि


  • आशाका किरण

देशभर पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ६३४ को नमूना परीक्षण गरिएको थियो । दुई हजार ३७६ ले पिसिआर र एक हजार २५८ को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ८२३ पुगेको छ । यो दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ८० हजार १४२ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८५ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १८४ र संस्थागत आइसोलेशन एक जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा इलाम, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, पाँचथर, सङ्खुवासभा, पर्सा, सप्तरी, रौतहट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेल्धुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ४२, ललितपुर १२ र भक्तपुरमा चार सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij