• Tuesday 8th of September 2026

बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग


  • आशाका किरण

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कार घटनामा हदम्याद बढाउन माग गरेको छ । नेविसङ्घले आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’लाई भेटेर बलात्कार घटनामा हदम्यादको व्यवस्था संशोधन गर्न माग गरेको हो ।

नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको भन्दै अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो ।

“बलात्कार जस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउन हुँदैन, दोषीमाथि कडा कारवाही र विभेदकारी कानुनी व्यवस्था संशोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो । नेविसङ्घले हिंसा र जघज्य अपराधका मुद्दामा अदालतमा पनि चाँडो मुद्दा फैसला हुने व्यवस्था मिलाउनसमेत माग गरेको छ ।

भेटमा मन्त्री शर्माले कुनै पनि घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने दायित्व राज्यको भएकाले राज्य यस्ता विषयमा संवेदनशील रहेको बताउनुभयो । यस्ता घटनाबारे आवश्यक कानून संशोधन प्रक्रिया अगाडि बढाउन सरकार सकारात्मक रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij