• Tuesday 8th of September 2026

बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई सास्ती


  • आशाका किरण

बर्थिङ सेन्टर गाउँबाट टाढा हुँदा जुम्लाको तिला गाउँपालिका–७ का महिलालाई सास्ती हुने गरेको छ । बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई नियमितरुपमा जाँच गराउन समस्या भएको छ ।

ग्रामीण भेगमा यातायातको असुविधा छ । त्यसैले सुत्केरीलाई बर्थिङ सेन्टर जान समस्या हुने गरेको छ । उनीहरु घरमै सुत्केरी हुने गरेका छन् । “नजिक बर्थिङ सेन्टर छैन, टाढाका स्वास्थ्य संस्थामा जान यातायातको असुविधा छ”, तिला–७ पोखरी गाउँकी २६ वर्षीया आशा रोकायाले भन्नुभयो, “बाटो भिरालो छ, बोकेर लैजान सकिँदैन ।”

गर्भवती भएको अवस्थामा पटकपटक स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ । स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले पोषण भत्ताको सुविधा दिएको छ । तर यहाँका महिला घरमै असुरक्षितरुपमा सुत्केरी हुँदा उक्त सुविधाबाट पनि वञ्चित भएका छन् । सडकको ट्र्याक खोल्ने काम भर्खर हुँदैछ । पोखरी गाउँदेखि दुई घन्टाको दूरीमा घोडेगाउँ स्वास्थ्यचौकी रहेको छ । त्यहाँ बर्थिङ सेन्टर भए पनि भौगोलिक विकटताका कारण सुत्केरीलाई पुग्नै सकस हुन्छ ।

तिला–६, ७, ८ र ९ वडामा सडक निर्माण गरिए पनि यातायातका साधन पुग्न सकेका छैनन् । रारा सेरीस्थित तिला नदीमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । पुल बनेपछि मात्र ती वडा सडक सञ्जालसित जोडिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायले भन्नुभयो । गाउँमा सडक सञ्जाल विस्तार भएपछि बर्थिङ सेन्टर पहल गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij