• Tuesday 8th of September 2026

बैतडी आइपुगे पाठ्यपुस्तक, वितरण सुरु


  • आशाका किरण

बैतडीका सबै विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक यहाँ आइपुगेका छन् । जिल्लामा आवश्यक ६८ हजार पाठ्यपुस्तक यहाँ आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयो ।

बैतडीमा पाँच सय ६२ विद्यालयमा कक्षा १ देखि १० सम्म आवश्यक सबै ६८ हजार पाठ्यपुस्तक आइपुगेको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला पुगेका पाठ्यपुस्तक ढुवानी जारी छ, विद्यार्थीलाई वितरण पनि सुरु भइसकेको छ ।”

जिल्लामा हाल भर्ना अभियान सञ्चालन छ । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “भर्ना अभियान सँगसँगै पाठ्यपुस्तक वितरण सुरु गरिएको छ ।”

नयाँ विद्यार्थी भर्नाका लागि घरदैलो अभियान जारी रहेको र भर्ना अभियानपछि एक समारोहबीच पाठ्यपुस्तक वितरण गरिने दशरथचन्द मावि सुन्दरखालीका प्रधानाध्यापक तेजप्रकाश भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छौँ, घरदैलो अभियानपश्चात् विद्यालयमा एक कार्यक्रमकाबीच पाठ्यपुस्तक वितरण गर्छौं ।” गत वर्ष समयमै पाठ्यपुस्तक नपुगे पनि यो वर्ष भने समयमै पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij