• Saturday 25th of July 2026

स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाको सहयोग


  • आशाका किरण

पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको छ ।

आगामी आव २०८०÷८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारितासम्बन्धी नीतिमा नगरका क्रियाशील पत्रकारलाई अध्ययनका लागि विशेष सहयोग गरिने उल्लेख छ । उक्त कार्यक्रम पाल्पाकै नमूना भएको नगरपालिकाले जनाएको छ ।

पत्रकारिता गर्ने सञ्चारकर्मी तथा पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले आगामी आवदेखि लागू हुने गरी स्नातकोत्तर तहमा अध्ययन गर्ने पत्रकारका लागि नीति तथा कार्यक्रममा समावेश गरेको नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रले समाजको सही, सत्य र निष्पक्ष सूचना प्रवाह गरेको हुन्छ”, उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा क्रियाशील पत्रकारलाई दक्ष बनाउन स्नातकोत्तर तह पढ्नेलाई रामपुर नगरले विशेष सहयोग गर्नेछ ।”

पत्रकारिता विषय अध्ययनका लागि नगरभित्र रहेर सक्रियरूपमा पत्रकारिता गर्ने पत्रकारले विशेष सुविधा पाउनेछन् । यस कार्यक्रमले रामपुरमा क्रियाशील पत्रकारमा खुसीयाली छाएको छ । पत्रकारिता विषय लिएर अध्ययन गर्ने मन भए पनि अर्थाभावमा रहेका पत्रकारलाई यो कार्यक्रमले धेरै सुविधा पुग्नेछ ।

रामपुर नगरपालिकाभित्र हाल एफएम रेडियो, टेलिभिजन, अनलाइन, छापा माध्यमलगायतका विभिन्न सञ्चारमाध्यममा गरी करिब ३० सञ्चारकर्मी क्रियाशिल छन् । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा रहेको रामपुरमा पछिल्लो समय सञ्चारमाध्यमको विकास हँुदै जाँदा पत्रकारितामा रुचि राख्ने सञ्चारकर्मी पनि बढ्दै गएका छन् ।

रामपुरमा बसेर राष्ट्रियस्तरका विभिन्न सञ्चारमाध्यममा पत्रकारिता गर्ने जनशक्ति उत्पादन भएको छ । पत्रकारिता विषय लिएर स्नातकोत्तर तहसम्मको अध्ययन गर्ने पत्रकार भने अति न्यून छन् । समाजमा भएका यथार्थ घटना पत्रकारले देश तथा विदेशमा खबर पुर्याउने भएकाले राम्रो र सक्षम पत्रकार उत्पादन गर्न उनीहरूको शैक्षिक गुणस्तर विकासका लागि आगामी आवदेखि लागू हुने गरी नयाँ कार्यक्रम ल्याएको नगरका प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउनुहुन्छ ।

स्नातकोत्तर तहमा पत्रकारिता अध्ययन गर्नका लागि धेरै रकम लाग्ने, अर्कोतर्फ काठमाडौँमा नै गएर भर्ना भएर पढ्नुपर्दा आर्थिक भार हुने हुँदा पढ्ने रुचि भएर पनि धेरैले पढ्न नसकिरहेको अवस्था छ । नगर सरकारले विशेष सहयोग कार्यक्रम ल्याएपछि पत्रकारितामै भविष्य बोकेका पत्रकारलाई धेरै राहत मिल्ने नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका सदस्य दुर्गेश मल्ल बताउनुहुन्छ । पत्रकारिता क्षेत्रमा केही अध्ययन गरेर राम्रो गर्छु भनेर लागिरहेका छन् । कतिपय पत्रकारिता क्षेत्र नै राम्ररी नबुझीकन यो क्षेत्रमा लागेका छन् । रामपुर नगरले पत्रकारिता क्षेत्रलाई महत्व दिएर नीति तथा कार्यक्रममा समावेश गरेपछि पत्रकारिता गरिरहेका सञ्चारकर्मी उत्साहित बनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij