• Tuesday 8th of September 2026

देशभरका फार्मेसी अनुगमन सुरु


  • आशाका किरण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो ।

अनुगमनका क्रममा आज मन्त्री बस्नेत स्वयम फार्मेसीको स्थलगत निरीक्षणमा पुग्नुभएको छ । उहाँले ललितपुर पाटनस्थिल टाइम मेडिकल फार्मेसी, एकान्तकुनाको सेवा हेल्थ केयर प्रालि (फार्मेसी युनिट) र जावलाखेलको अल्का अस्पतालको फार्मेसीको स्थलगत निरीक्षण गर्नुभयो ।

अनुगमनका क्रममा पाटनस्थित टाइम मेडिकल र एकान्तकुनाको सेवा हेल्थ केयर फार्मेसीमा म्याद गुज्रिएका औषधि राखिएको पाइएको, मिति नाघेका औषधिको विल बनाउँदा स्पष्ट नलेखेको, कतिपय बेच्न नमिल्ने औषधि पनि राखेको पाइएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

फार्मेसीको निरीक्षणपछि स्वास्थ्यमन्त्री बस्नेतले देशभरका फार्मेसीको निरीक्षण र अनुगमनको काम भइरहेको र यसलाई निरन्तरता दिइने बताउनुभयो । गल्ती गर्ने फार्मेसीका विषयमा बेलुका मन्त्रालय र विभागसहितको टोलीले आवश्यक कारबाहीको निर्णय लिनेछ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फार्मेसीको प्रभावकारी अनुगमन गरी प्रक्रिया नपुर्‍याइ सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्रीवितरण गरेको पाइएमा कडा कारबाही गरिने जानकारी दिनुभयो ।

मन्त्री बस्नेतको नेतृत्वमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा लागुऔषध ब्युरोका प्रतिनिधि, विभागका कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

काठमाडौँ उपत्यकामा फार्मेसी अनुगमनका लागि आज २० वटा टोलीले स्थलगत निरीक्षण गरेको थियो । देशभरका फार्मेसीको अनुगमनका लागि ७७ वटै जिल्लामा अनुगमन संयन्त्र बनाइएको र यसले निरन्तर अनुगमन गर्ने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij