• Tuesday 8th of September 2026

घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार


  • आशाका किरण

तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको उपचार गर्ने गरेको छ । वडाभित्रका ६० बर्ष माथिका जेष्ठ नागरिकलाई प्रत्येक महिना घरमै पुगेर उपचार गर्ने गरिएको हो ।

बिरामी भएका बेला घरमै पुगेर निःशुल्क उपचार तथा औषधि प्रदान गर्ने गरिएको जनाउँदै दीर्घ रोगीले खाने औषधिकोसमेत बिलका आधारमा पैसा दिने गरिएको वडाध्यक्ष सुनिल वलीले बताउनुभयो ।

“कोही हिँडडुल गर्न सक्नुहुन्न, कसैको आर्थिक अवस्था कमजोर छ”, उहाँले भन्नुभयो, “यही कारणले कोही पनि उपचारबाट बञ्चित हुन नपरोस् भनेर हामीले घरमै गएर सेवा दिन सुरु गरेका हौँ ।” उहाँका अनुसार हाल वडामा रहेका चार सय ४२ ज्येष्ठ नागरिकले सेवा लिइरहेका छन् भने ५७ जना दीर्घरोगीले बिलका आधारमा सेवा पाइरहेका छन् ।

वैशाख ४ गतेदेखि वडाभित्र रहेका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएकाको स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्यकर्मी खटाएर यो अभियान सञ्चालन गरिरहेको छ । साथै सरकारले निःशुल्करुपमा उपलब्ध गराएका औषधि बाघमारे स्वास्थ्यचौकीबाट वितरण गरिँदै आइएको वडाध्यक्ष वलीले जानकारी दिनुभयो ।

घरमै स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । बिरामीले फोन गरेको अवस्थामा २४सै घन्टा सेवा सञ्चालन गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य सहजकर्तासमेत परिचालन गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij