• Friday 24th of July 2026

पद्मकन्या बहुमुखी क्याम्पसले मनायो ७३औँ वार्षिकोत्सव


  • आशाका किरण

काठमाडौँ, ५ असोज : पद्मकन्या बहुमुुखी क्याम्पसले आज ७३औँ वार्षिकोत्सव मनाएको छ । आज यहाँ आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुषालले सात दशकभन्दा पुरानो क्याम्पसको शैक्षिक गुणस्तरका लागि सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

“राज्यले शिक्षा क्षेत्रमा यथेष्ठ बजेट छुट्याउन नसक्दा त्यसको मार विश्वविद्यालयमा परेको छ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयका आवश्यकता परिपूर्तिका लागि हामी पाठ्यक्रमलाई बजारको आवश्यकतासँग जोड्ने गरी काम गरिरहेका छौँ ।” उहाँले क्याम्पसको शैक्षिक गुणस्तरवृद्धिका लागि सरोकारवाला सबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।

बागमति प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले आफ्नो विद्यार्थी जीवनको स्मण गर्दै पद्मकन्या बहुमुुखी क्याम्पसले अध्ययनशील र जिम्मेवार नेतृत्व गर्न प्रेरणा दिएको बताउनुभयो । उहाँले क्याम्पसको स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

वार्षिकोत्सवका अवसरमा क्याम्पसले आजदेखि ई–लाईब्रेरी र निःशूल्क सेनिटरी प्याडको वितरण सुरु गरेको छ । क्याम्पस प्रमुख प्रा डा जयालक्ष्मी प्रधानले विद्यार्थी, शिक्षकका साथै कर्मचारीहरुलाई अध्ययन अनुसन्धान कार्यमा सहयोग पु¥याउनका लागि ई–लाइब्रेरी सुरु गरिएको बताउनुभयो । महिला जागरण र सशक्तीकरणका लागि स्थापना भएको क्याम्पसले शैक्षिक र प्राज्ञिक गतिविधिमा सफलता हासिल गर्दै आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यहाँबाट उत्पादित जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनका लागि शैक्षिक गुणस्तर थप अभिवृद्धि गर्दै लैजानु आजको प्रमुख चुनौती हो ।”

क्याम्पस प्रमुख प्रधानले शैक्षिक तथा प्रशासनिक कार्यलाई चुस्तदुस्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा एमसीए र फेसन डिजाइनिङ कार्यक्रम थप गरिएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij