• Friday 24th of July 2026

संख्याको बलले माओवादीको सुशासनको अभियानलाई अवरुद्ध पारियो : प्रचण्ड


  • आशाका किरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलले माओवादीको सुशासनको अभियानलाई अवरुद्ध पारेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नवराज पुडासैनीद्वारा लिखित संघर्षमा सिरानचोक पुस्तकको लोकार्पण गर्दै प्रचण्डले संसदमा माओवादीको ३२ सिट मात्रै भएपनि सरकारको नेतृत्व गरेर मुलुकमा सुशासन कायम गर्न खोज्दा संख्याको बलमा त्यसलाई असफल पारिएको बताउनुभएको हो । उहाले संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले माओवादी संघर्षलाई कठिन बनाएको उल्लेख गर्नुभयो ।

प्रचण्डले जनयुद्ध र माओवादी आन्दोलनमा मान्यताहरुलाई विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए अहिले देखिएको अराजकता र बेथिति रोक्न सकिने जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले प्रत्येक पालिका र वडा स्तरसम्मै भएका त्याग, तपस्या र बलिदानका ऐतिहासिक गाथा संकलन गरेर एउटा ठूलो राष्ट्रिय कृतिमा परिणत गर्न सकिने बताउनुभयो ।

उहाँले जनयुद्धलाई साहित्य, दर्शन र संस्कृतिको दृष्टिमा समेत मौलिक सौन्दर्य र ऐतिहासिक योगदान भएको भन्दै यसलाई विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रचण्डले माओवादी आन्दोलनको मानवीय पक्षलाई स्मरण गर्दै युद्धका क्रममा कतिपय कमजोरी भए पनि आत्मालोचना र सुधार गर्ने परम्परा माओवादीमा मौलिक रहेको उल्लेख गर्नुभयो ।

उहाँले विभाजन र अन्तरद्वन्द्वका कारण आन्दोलनको महत्वपूर्ण उपलब्धिहरू जनतामाझ पूर्णरूपमा स्थापित गर्न नसकिएको स्वीकार गर्नुभयो । गणतन्त्रले ल्याएको परिवर्तनलाई संस्थागत गर्न परिवर्तनको आन्दोलन जनयुद्वलाई सही मूल्याङ्कन गर्न आवश्यक रहेको उहाको भनाइ छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij