नेकपा एमालेका युवा नेताहरुले पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ध्वस्त भएको च्यासलस्थीत पार्टी केन्द्रीय कार्यालय पुगेर एमाले नेताहरुले पार्टीको नियमित काममा फर्किएको जनाउदै छिटै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका हुन् ।
एमालेका युवा नेता महेश बस्नेतले पार्टी काममा लाग्न आग्रह गर्दै पार्टी पुरानै अवस्थामा फर्किएको बताउनुभयो । उहाले अव मिसन २०८२ को निर्वाचनमा लाग्ने उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन हुनै पर्ने धारणा राख्नुभयो । बस्नतले एमालेलाई कमजोर नठान्न चेतावनी दिदै एकदुईदिनभित्र काठमाडौंमा युवाहरुको विशाल जुलुस निकाल्ने बताउनुभयो ।
त्यस्तै संविधान दिवसको दिन असोज ३ गते पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्ने उहाको भनाई छ ।
त्यस्तै एमालेका अन्य युवा नेताहरुले जेनजी आन्दोलनका नाममा घुसपैठ गरेर तोडफोड तथा आगजनी गर्नेलाई कारवाही गर्नुपर्ने जनाएका थिए । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट एमाले पार्टी कार्यालय पूर्ण रुपमा ध्वस्त भएको छ ।
