• Saturday 25th of July 2026

एमसिसी राष्ट्रको हितमा छ : प्रवक्ता श्रेष्ठ


  • आशाका किरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहनु भएका श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउने बताउनुभयो । “एमाले र माओवादी भन्ने इतिहास हो”, श्रेष्ठले भन्नुभयो, “नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ, भागबन्डामा नेकपा लाग्दैन ।” उहाँले अहिले निकै चर्चाको विषय बनेको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एमसिसीको योगदान सकारात्मक हुन्छ । यो राष्ट्रको हितमा रहेको छ । यसलाई कसैले अतिरञ्जित गराउन हुँदैन ।’’

नेता श्रेष्ठले पत्रकारहरुको जवाफ दिँदै पार्टी एकीकरण भइसकेपछि पनि पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा जायज नभएको प्रस्ट पार्नुभएको थियो । उहाँले उपसभामुखको राजीनामा आउनेमा नेकपा ढुक्क रहेको बताउँदै संसद्को गतिरोधले छिट्टै निकास पाउने बताउनुभएको छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख पाउनका लागि नेकपाले उपसभामुखलाई राजीनामा दिलाउने उहाँले विश्वस्त पार्नुभयो । राष्ट्रियसभाको उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले पार्टीको चाहनाअनुसार नै आफूले राष्ट्रियसभामा उम्मेदवार दिएको बताउनुभयो । राष्ट्रियसभाको निर्वाचनको प्रचारप्रसारका लागि गण्डकी प्रदेशबाट उम्मेदवार बन्नुभएका नेता श्रेष्ठ र भगवती न्यौपाने बागलुङ आउनुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij