• Saturday 25th of July 2026

गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनुपर्छ : सञ्चारमन्त्री बास्कोटा


  • आशाका किरण

सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सि विधेयकमाथिको छलफलमा बास्कोटाले यस्तो बताउनुभएको हो । विधेयकमा गलत मनासाय राखेर समाचार सम्प्रेसण गरेको ठहर भएमा पत्रकारलाई १० लाख रुपैयाँ जरिवाना गराउने प्रावधानको सट्टा जरिवाना कति गराउने भन्ने अंक उल्लेख नगर्ने तर अदालतले तोकेको जरिवाना सञ्चारगृहबाट भराउनुपर्ने प्रस्ताव बास्कोटाले गर्नुभएको हो । २५÷५० हजार मासिक तलब पाउने पत्रकारले लाखौं क्षतिपूर्ति दिन नसक्ने भन्दै बास्कोटाले समाचार संस्था वा सञ्चारगृहले नै तिर्नुपर्ने प्रावधान राख्नुपर्ने बताउनुभएको हो । ‘जरिवाना यति नै भनेर अंक नतोकौं तर अदालतले मनासिव गरे अनुसार हुने भनेर उल्लेख गरौँ यस्तो गर्दा राम्रो हुन्छ । न्यायीक निरुपणको विषय त सबैले मान्नुपर्छ । यसमा समाचार संस्था वा गृह के भन्दा राम्रो हुन्छ, त्यो मिलाउ । तर २५÷५० हजार तलव खाने पत्रकारलाई १० करोड क्षतिपूर्ति दिलाउ भन्यो भने के हुन्छ ? कुन चाँही पत्रकारले तिर्न सक्छ’, भारतीय मिडियामा घटेको एक घटना सुनाउँदै बास्कोटाले भन्नुभयो, ‘अहिले नेपालमा ४, ५ लाखले चल्ने मिडिया कुनै पनि रहेनन् । यहाँ करोड मात्रै होइन अर्वौका लगानीका मिडिया सुरु भइसके । त्यसो भएपछि आफुले दश लाख तिर्दा गाह्रो पर्ने अर्काको करोडौ डुब्दा कानमा तेल हालेर बस्नुपर्ने भनेर उन्मुक्ति दिन सकिँदैन् ।’बास्कोटाले मुद्धाहरुको छानबिन र जरिवाना तोक्ने अधिकार अदालतलाई दिनुपर्ने बताउनुभएको छ । आचारसंहिता उलंघनका घटनाहरु, पीडक र पीडितबीच मध्यस्तताका काम मात्रै काउन्सिलले गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने बास्कोटाको भनाई छ । ‘मिडियाले जुन ठाउँमा समाचार छापेको छ । त्यही ठाउँमा पीडितको कुरा राख्नेगरी काउन्सिलले चेतावनी दिन सक्छ । खण्डनका लागि आदेश दिन सक्छ । आर्थिक क्षति वा व्यवसायीक क्षति भएमा काउन्सिलको निर्णय मनासिव नहुने भएकाले अदालति निरुपणको विषय बन्न सक्छ’, उहाँले भन्नुभयो । बास्कोटाले काउन्सिलको हकमा अथाश शक्ति केन्द्र गर्न नहुनेमा जोड समेत दिनुभएको छ । अदालतले दशी प्रमाणका आधारमा प्रमाणि भए जतिपनि सजाय तोक्ने सक्ने बताउँदै बास्कोटाले मिडियाले कसैप्रति अन्याय नै गर्दैन भनेर भन्न नसकिने बताउनुभयो ।मिडिया आफैमा शक्तिशाली भएकाले त्यसको ‘मिसयुज’ नहोस भन्ने तर्फ सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो । विज्ञापन नपाएको झोँकमा व्यवसाय नै ध्वस्त पर्नेगरी समाचार सम्प्रेशण हुने गरेको बताउँदै बास्कोटाले न्याय निरुपणको विषय अदालतबाट टुंगिनुपर्नेमा जोड दिनुभयो ।विधेयकका विषयमा प्रतिपक्षी दल, पत्रकार महासंघ लगायत सम्बन्धित क्षेत्रहरुसँग पनि छलफल भएको बताउँदै बास्कोटाले जरिवाना यति गर्ने भनेर अंक उल्लेख नगर्दा पनि हुने, मिलापत्र गराउन सक्ने अधिकार काउन्सिललाई हुनुपर्ने र पीडितलाई अदालति प्रकृयामा जान कुनै बाधा अवरोध हुन नहुनेमा उहाँले जोड दिनुभयो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथिको छलफल चलिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij