सुदर्शन बजगाई,आशाका किरण समाचार । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो विरुद्ध भइरहेको विरोध प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताउनुभएको छ ।सपथग्रहणपछि पत्रकारहरुसँगको कुराकानीमा सभामुख सापकोटाले आफ्ना विरुद्ध सडकमा भइरहेको प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताउनुभएको हो । सभामुख सापकोटाले लोकतान्त्रिक प्रकृयामा विरोध र समर्थन हुनु स्वभाविक भएको बताउनुभयो । ‘यो लोकतन्त्र हो । लोकतान्त्रिक प्रकृयामा चलिरहने प्रकृयाको हो भनेर मैले यसलाई लिएको छु’, उहाँले भन्नुभो । सापकोटा सभामुखमा निर्वाचित भएसँगै मानवअधिकारवादीहरुले विरोध जनाइरहेका छन् । सोमबार मात्रै सभामुख सापकोटा विरुद्ध प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले पक्राउ गरेको छ । सापकोटाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने विषयमा सबै सांसदहरुको धारणा समेटेर अगाडी बढ्ने बताउनुभएको छ ।
एमसीसीका विषयमा बाहिर बहस चलिरहेपनि आफुले अध्ययन गर्नै बाँकी रहेको र अध्ययनपछि मात्रै केही भन्न सक्ने अवस्था हुने उहाँले बताउनुभयो । ‘अहिले त भरखर सभामुख भएको छु । त्यो अध्ययन गर्नुप¥यो भित्र हेर्नुप¥यो । अहिले बाहिर बहस भइरहेको छ । ठिक छ मैले सुनिरहेको छु तर भित्र पसेर हेरेपछि मैले के हुन्छ भनेर भन्न सक्ने हो । र मैले १७५ जना सांसदहरुको भावना समेट्ने अधिकतम कोसिस गर्छु’, उहाँले भन्नुभयो ।प्रधानमन्त्रीलाई भेट्न कुदेर गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको विषयमा सापकोटाले यसलाई अन्यथा नलिन आग्रह गर्नुभएको छ । सपथग्रहणपछि सबैको साझा भएपनि सभामुख बनाउने पार्टीको अध्यक्ष, दलको नेतालाई भेटनु स्वभाविक भएको उहाँले बताउनुभयो । संसदको मूल्य मान्यता अुनसार नै आफुले प्रधानमन्त्रीलाई भेटेको र सुरुमा उहााबाट नै बधाई लिन चाहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘आज मैले सपथ ग्रहण गरे र आजबाट म सबैको साझा भए । यो भन्दा पहिले मेरा लागि प्रधानमन्त्री मात्र होइन् उहाँ मलाई सभामुख बनाउने पार्टीको अध्यक्ष र दलको नेता पनि हो । संसदमा त्यतिबेला मैले प्रधानमन्त्रीबाट सुरु गर्न खोजेको थिए । यो स्वभाविक हो । संसदीय मूल्य, मान्यता र पद्धतिको गरिमासँग मेल खान्छ ।’’
