• Tuesday 8th of September 2026

बामदेवलाई प्रतिनिधि सभामा लैजाने र २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय


  • आशाका किरण

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भावी प्रधानमन्त्रीका रूपमा चर्चा हुन थालेका पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधि सभा सदस्य बनाउने निर्णय गरेको छ।

आज बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो।

सत्तारुढ नेकपाभित्र तीब्र बनेको शक्ति संघर्षकैबीच १७ वैशाखमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए।

आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन पार्टीभित्रैबाट षडयन्त्र भएको भन्दै उनले आफूले प्रधानमन्त्री पद छाड्ने भए गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका थिए।

गौतम २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित उम्मेदवार हुन्।

उनले प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रतिनिधि सभाको सदस्य बन्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले अघिल्लो बैठकमा आफूले गरेको प्रस्तावमा आफू अडिग रहेको भन्दै गौतमलाई प्रतिनिधि सभा सदस्य बनाउन कुनै एक क्षेत्र खाली गराउनका लागि पहल गर्न बैठकमा आग्रह गरेका थिए।

१७ वैशाखको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न आग्रह गरेका थिए।

आजको बैठकले नेतृत्व तहमा देखिएको असमझदारी र शक्ति संघर्षलाई सहमतिका आधारमा टुंग्याउने निर्णयसमेत गरेको श्रेष्ठले बताए।

यसैबीच,  २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय समेत आजको बैठकले गरेको छ।

२५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकअघि २४ वैशाखमा सचिवालयको अर्को बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताए।

आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले  आत्मालोचना समेत गरेका छन्।

बैठकले पार्टीको मार्गनिर्देशमा सरकार सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij