• Tuesday 8th of September 2026

पार्टीभित्रको विवाद शक्ति सङ्घर्ष होः पोखरेल


  • आशाका किरण

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)स्थायी कमिटी सदस्य मुख्यमन्त्री शंकर पोखरेलले पछिल्ला दिनमा नेतृत्व आपसी अन्तरसंवादतर्फ केन्द्रित हुँदा पार्टीभित्रका विवाद कम हुँदै गएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन महासचिव जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २७ आँै स्मृति दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मृति कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलले पार्टी एकताको सफलता हरेक नेता कार्यकर्ताले सोच्नुपर्ने विषय भएको बताउनुभयो । ‘इतिहासप्रति गर्व गरौँ, इतिहासको भारी बोकेर वर्तमानलाई प्रभावित गर्ने काम नगराँै’, उहाँले भन्नुभयो, ‘हाम्रो एकता समाजवाद निर्माण, मुलुकको समृद्धि र जनताको दिगो स्तरमा रुपान्तरणका लागि हो ।’

उहाँले पार्टीभित्र वर्तमानमा देखिएको विवाद वैचारिक र राजनीतिक नभएर शक्ति संघर्ष भएको बताउँदै यसलाई कम्युनिष्ट आन्दोलनमा कुनै उचित मुद्दाका रुपमा लिनु नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘शक्तिलाई व्यवस्थापन वा संयोजन गर्ने हो, त्यसको प्राप्तिका लागि अनावश्यक द्वन्द्व आन्दोलनको भविष्यका लागि हानिकारक हुन्छ भन्ने सबैले गहिरो गरी महसुस गर्नु जरुरी छ ।’ मुख्यमन्त्री पोखरेलले नेपाली समाजमा प्रतिस्पर्धाका माध्यमबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई स्थापित गर्ने तथा संवैधानिक प्रतिस्पर्धाका माध्यमबाट समाजवाद निर्माण गर्ने नेकपाले लिएको लक्ष्यलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा भण्डारीका विचार अत्यन्तै सान्दर्भिक र सार्थक रहेको बताउनुभयो । उहाँले नेताहरु कुनै रहस्यमय अलौकिक कथाका पात्र जस्तो नभएर निरन्तर कार्यकर्ता र जनताबाट अनुमोदित हुनुपर्ने र पार्टी कमिटी प्रणाली शृङ्खलाबद्ध हुन सके मात्र समाजलाई रुपान्तरण गर्न सक्ने पार्टी निर्माण गर्न सकिनेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij