• Tuesday 8th of September 2026

प्रधानमन्त्री ओलीको बोल्ड कदम : निशान छाप फेर्न संविधान संशोधन गर्ने मन्त्रिपरिषद्काे निर्णय


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । आज बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासमेत समेटेर तयार पारेको नेपालको पूर्ण नक्शालाई ५ जेठको मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो।

उक्त नक्शा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ७ जेठमा सार्वजनिक गरेकी थिइन्। नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान छापसम्बन्धी व्यवस्था छ। छापको बीचमा नेपालको नक्शा छ, जसमा भारतद्वारा अतिक्रमित लिम्पियाधुरा लगायतको भूभाग समेटिएको छैन।

अब ७ जेठमा जारी राजनीतिक र प्रशासनिक नक्शालाई यो निशान छापमा समेट्नका लागि संविधान संशोधन गर्नुपर्नेछ। त्यसैका लागि प्रस्ताव लैजाने निर्णय आजको मन्त्रिपरिषद्ले गरेको हो। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने निर्णय भएको बताए।

संघीय संसदको दुई तिहाई बहुमतले संविधान संशोधन गर्नसक्ने व्यवस्था छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग दुई तिहाइको बहुमत नपुग्ने भए पनि अन्य प्रतिपक्षी दलहरुले समेत सरकारले जारी गरेको नक्शामा समर्थन जनाएका छन्, जसका कारण दुई तिहाइ बहुमत पुग्न गाह्रो हुने देखिदैन।

यो पनी हेर्नुहोस् :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij