• Wednesday 9th of September 2026

नेकपाको एक महिने जनजागरण अभियान


  • आशाका किरण

जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिविरुद्ध एक महिने छानबिन तथा जनजागरण अभियान थालेको छ । नेकपाको शिखर नगर सङ्गठन कमिटीको बैठकबाट उक्त एक महिने छानबिन तथा जनजागरण अभियान गर्न थालेको हो । विशेषतः कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका समयमा रोग नियन्त्रण तथा व्यवस्थापनका नाममा शिखर नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै उक्त छानबिन अभियान चलाएको हो ।

आर्थिक अनियमिततासँगै बन्दै गरेको कार्यालय भवनको मापदण्ड र निर्माण सामग्री प्रयोगका विषयमा विवाद भएको र सो विषयमा आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा चलाईएको नेकपाको आरोप छ । निर्माणसम्बन्धी इजाजत पत्र नविकरण गर्दा जनप्रतिनिधीले अनियमितता गरे पनि आफ्ना समर्थकलाई आरोप लागेपछि एक महिने छानबिन तथा जनजागरण अभियान सञ्चालन गरेको नेकपाका सुदूरपश्चिम प्रदेश सदस्य लालबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा भएका आर्थिक अनियमितताका विषयमा उजागर गर्दा र अनियमितता नगर्न सल्लाह दिँदा उल्टै मुद्दा खेपाउने, धम्काउने प्रबृति बढेकाले हामीले छानबिन तथा जनजागरण अभियान चलाएका हौँ, कसैको व्यक्तिगत रिसले होइन कानूनसम्बत होस् भन्ने हाम्रो चाहना हो ।”

सत्तारुढ दल नेकपाले औपचारिक निर्णय गरी एक महिने छानबिन तथा जनजागरण अभियान चलाएको देशमै शिखर नगरपालिका पहिलो भएको नेकपा शिखर नगर कमिटी अध्यक्ष सागर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “शिखर नगरपालिकामा छानबिन तथा जनजागरण अभियान चलाएको देशैभरी पहिलो स्थानीय तह हो, नगरभित्र भएका भ्रष्टाचार विरुद्ध सप्रमाणसम्बन्धित निकायमा उजुरी दिँदासमेत सुनुवाइ नभएपछि हामीले यो अभियान चलाएका हौँ ।” नेकपाले उक्त नगरपालिकाका ११ वटै वडामा छानबिन अभियान सञ्चालन गरिने जनाएको छ ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij