• Wednesday 9th of September 2026

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैन :मन्त्री गुरुङ


  • आशाका किरण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको प्ुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली सर्जक’ (पुस्तक समीक्षा) र ‘डाँडाको लाँकुरी’ (कवितासङ्ग्रह) विमोचन गर्दै मन्त्री गुरुङले आफूहरु परिवर्तन हुन तयार रहेको तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन नहुने स्पष्ट गर्नुभयो ।
मन्त्री गुरुङले कोरोना महामारी जस्तो सङ्कटका समयमा सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद हुनु दुःखद् भएको बताउँदै भन्नुभयो, “सरकारले जनताको भावनाअनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको छ, यस बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्दछु ।”
सरकारका प्रवक्ता गुरुङले दोलखा जिल्लास्थित ‘दोलखा फिल्मी सिटी’ को संस्थागत विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखा साहित्य समृद्धिका लागि अनुपम थलो भएको बताउँदै त्यसलाई थप उचाइमा पु-याउन सरकारसँग आग्रह गर्नुभयो । साहित्यकार एमबी खड्काद्वारा लिखित ‘डाँडाको लाँकुरी’ कवितासङ्ग्रहमा ५० कविता समाविष्ट छन् । त्यसैगरी ‘दोलखाली सर्जक’ मा २४ पुस्तकमाथिका समीक्षा संलग्न छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij