• Wednesday 9th of September 2026

नेकपा भोजपुर-काठमाडौं सम्पर्क मंच भेलाको निश्कर्ष:देशले सम्वृद्धिको बाटो छोड्दैन


  • आशाका किरण

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर-काठमाडौं सम्पर्क मंचले पुस १० गते एक छलफल  तथा अन्तर्किया कार्यक्रम आयोजना गरेको छ। मंचले बदलिएको परिस्थितीमा एक भेलाको आयोजना गर्दै पार्टीका नीति तथा कार्ययोजनाको बारेमा बिभिन्न बक्ताले आ-आफ्ना बिचार पेश गरेका हुन्।

भेलाका प्रमुख अतिथी नेकपा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले पार्टी पंतीले अहिलेको बदलिँदै गरेको परिस्थितीमा अदालतले के निर्णय दिन्छ कसले के भन्छ त्यतापट्टि नसोचेर सच्चाई र सत्य केहो त्यसतर्फ हिँड्नुपर्ने बताए। “राजनीतिमा तत्कालको परिस्थितीमा नाफा घाटाको कुरामा बहकिने हुनु हुँदैन,सत्य के हो त्यसलाई छोड्नु हुँदैन,”उनले भने,”नेकपाको संघर्षको इतिहासमा उतार चढाब त हुँदै आएको हो तर सत्यलाई समात्दै हिँड्दा पार्टी सफल भएरै आएको छ।”

सिद्धान्तलाई ब्यवहारमा लागू गर्न नसक्ने पार्टी कमजोर हुने भन्दै नेपालका पार्टीहरुमा पहिल्यैदेखि यो रोग रहिआएको उनले बताए। “पार्टी कमजोर हुने अर्को ठूलो रोग पदको भोक रहिआएको छ जसले नेकपालाई बिग्रहमा लैजादै छ,” उनले भने।

पूर्व माननिय धनहर्क राईले अहिलेको बर्तमान सरकारले मध्यावधी निर्बाचन घोषणा गर्नुमा जनताको सर्बोपरितालाई स्विकार गरेको कुराको रुपमा बुझ्न सबैलाई आग्रह गरे। “जनता नै सर्बोपरि हुनाले जनताको ताजा जनादेश माग्नु कसरि प्रतिगमन भनिदैछ भन्ने प्रश्न गर्दै उनले कसैले पनि जबर्जस्ती भ्रम फैलाउन नहुने बताए। “म यहि पार्टीमा काम गर्दै गर्दै अहिले ७२ बर्षको भैसके तर फेरिपनि पार्टीमा बिग्रह आएको छ,यो दु:खद कुरा भएको छ,”उनको गुनासो थियो।

पूर्वमंत्री तथा हालै मनोनित केन्द्रीय सदस्य कृपासुर शेर्पाले नेकपा पहिलेपनि बिभाजन हुँदै एकता हुँदै आएको परिपक्व पार्टी भएको हुनाले अहिलेका अफ्ट्यारालाई पनि पार लगाउने क्षमता राख्ने बताए।

नेकपा भोजपुर जिल्ला कमिटी अध्यक्ष तथा हालै केन्द्रीय सदस्यमा मनोनित अर्का सदस्य प्रेम कुमार राईले नेकपाले आफूलाई समयसापेक्ष परिवर्तन गर्न नसकेको कुरा उल्लेख गरे। ब्यवहारमै पार्टी रुपान्तरित हुनुपर्ने भन्दै त्यो हुन नसके अझै के के क्षति पार्टीमा देखिनेछ टुंगो नभएको उनले बताए। सबैलाई आ-आफ्नो स्थानबाट आफ्नो शैली फेर्न उनले आग्रह गरे।

भेलालाई केन्द्रीय सदस्य नन्दकुमार राईले सम्बोधन गर्दै ‘सम्वृद्ध नेपाल शुखी नेपाली’को बाटोमा पार्टी बिचलित नभैकन हिँड्ने बताए। “देशको बिकाश अभियानलाई नै रोक्नेगरि जो जसले जे जे काम गरेका छन् तीनलाई जनताले रामै चिन्ने छन्,”उनको कथन थियो।

भेलाले हालै भोजपुर जिल्लाबाट केन्द्रीय कमिटीमा मनोनित पार्टीका धनहर्क राई, कृपासुर शेर्पा, देवीराम चौलागाईं, प्रेमकुमार राई, सिर्जना राई, पासाङ दोर्ची शेर्पा, भरत तामाङ, सुरेन्द्र उदाशलाई बधाई तथा सम्मान पनि गरेको छ।

भेलामा सम्पर्क मंचका पूर्व अध्यक्षहरु,जिल्लाका समाजसेवी, ब्यवसायी, महिला, युवा बिध्यार्थी तथा समाजका बिभिन्न पक्षका ब्यक्ति ब्यक्तित्वको उपस्थिती थियो। कार्यक्रम संचालन सम्पर्क मंचका पूर्व अध्यक्ष रेजीन श्रेष्टले गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij