• Saturday 25th of July 2026

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल


  • आशाका किरण

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताउनुभएको छ ।

नेकपा मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको मोर्चा सङ्गठनहरुको वृहत भेलालाई सम्बोधन गर्दै उहाँले जनताको बहुदलीय जनवादको आलोकमा पुनः राष्ट्रियता, जनजीविका, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको अभियानलाई नयाँ उचाइका साथ अगाडि बढाइने उल्लेख गर्नुभयो ।

उहाँले गत निर्वाचनमा जनताले व्यापक जनसमर्थनसहित कम्युनिष्ट पार्टीलाई शासन सत्ताको नेतृत्व सुम्पिएको उल्लेख गर्दै सरकारले जनचाहना अनुरुप नै रेलदेखि पाइलाइनबाट तेल ल्याउनेसम्मको काम गरेको बताउनुभयो ।

यस्तै उहाँले कालापानी लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता ल्याउने, सगरमाथाको उचाइ मापन गर्ने, व्यक्तिले हडपेका सार्वजनिक जमीन फिर्ता ल्याउनेदेखि देशलाई सुरुङ मार्गको युगमा प्रवेश गराउने, भत्किएको धरहरा ठड्याएर नेपाली स्वाभिमान उठाउने, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणदेखि ठूला विकास आयोजनाको द्रुततर विकास, गाउँगाउँमा सडक, यातायात, प्राविधिक शिक्षालयको व्यवस्था, आधारभूत अस्पतालको व्यवस्थालगायत समृद्धिका लागि भएका प्रयास भुल्न नहुनेमा जोड दिनुभयो ।

“मूलतः नेकपाका श्रदेय अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र राष्ट्रियताका सन्दर्भमा प्रदर्शन गर्नुभएको चट्टानी अडान, भारतीय दबाब, हैकमलाई बेवास्ता गर्दै, नाकाबन्दीलाई घँुडा टेकाउँदै संविधान निर्माणमा खेल्नुभएको भूमिका, विकास र समृद्धिका लागि देखाउनुभएको सपना, जनजीविकाका सवालमा देखाउनुभएको संवेदनशिलतालगायत कारणले जनताले समृद्ध नेपाल, सुखी नेपालीको जिम्मेवारीसहित नेकपालाई जनमत दिएका थिए”, पौडेलले भन्नुभयो ।

युवा सङ्घका संहसंोजक रमेश पौडेलले नेकपाभित्र आधिकारिकताको बहस आवश्यक नरहेको बताउनुभयो । नेकपाका अर्का केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले ओली नेतृत्वको नेकपा नै आधिकारिक रहेको भन्दै पछिल्लो समयमा केही व्यक्ति मूल प्रवाहबाट भाग्न खोजेकाले मूलधार मै फर्कन आह्वान गर्नुभयो ।

केन्द्रीय सदस्य अनन्त पौडेलले सरकारका राष्ट्रवादी कामका कारण प्रधानमन्त्रीले चौतर्फी घेराबन्धीको सामना गर्नुपरेको जिकिर गर्नुभयो । नेकपा केन्द्रीय सदस्य रामेश्वर राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, युवा सङ्घका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सन्तोष चौलागाईंलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij