• Wednesday 9th of September 2026

अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध होः उपप्रम पोखरेल


  • आशाका किरण

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वाग्मती प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको आमसभामा उहाँले अहिलेको लडाइँ पद प्राप्तिका लागि नभएर मुलुकलाई स्थिरता दिनका लागि भएको स्पष्ट पार्नुभयो ।

लामो राजनीतिक अस्थिरताबाट आक्रान्त मुलुकलाई स्थायित्व दिने र आर्थिक विकास समृद्धिबाट पछि परेको मुलुकलाई अघि बढाउने प्रधानमन्त्री ओलीको उद्देश्य रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले ‘संविधानको रक्षा गर्दै अराजकताको अन्त्य गर्ने उद्देश्यमा अघि बढिरहँदा त्यसलाई असफल गर्ने काम भएकाले’ सोकोविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको स्पष्ट गर्नुभयो । सम्पूर्ण कुराको फैसला जनताले गर्ने भएकाले ताजा जनादेशमा जाने निर्णय गरेर अघि बढिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले जे फैसला गर्छन्, त्यो हामी शिरोधार्य गर्ने भनी निर्वाचनमा जान लागेका हौँ ।”

पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमा धक्का दिएर निकाल्ने दुष्प्रयास भएको उहाँको भनाइ थियो । हिजो महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई फेरि महाधिवेशन नगरी हटाउन खोजिएको बताउँदै उहाँले भन्नुभयो, “यो कुरा आमजनता र कार्यकर्ताले रुचाएका छैनन् ।”

आर्थिक विकास र समृद्धिको अभियानलाई निरन्तरता दिँदै संविधानको रक्षा तथा समृद्ध नेपाल सुखी नेपालीलाई साकार बनाउने उद्देश्यमा सरकार लागिपरेको उहाँले बताउनुभयो ।

आमहडताल गरी नेपाल बन्द गराउने कामको विरोध गर्दै उहाँले काम गरेर जीविकोपार्जन गर्ने ट्याक्सी चालकको ट्याक्सी तोडफोड गरिएकामा सरकारले त्यसको क्षतिपूर्ति दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध भएको जनाउँदै उहाँले भन्नुभयो, “ यो आर्थिक वृद्धि र समृद्धिमा जान नदिनेको विरुद्धको लडाइँ हो, त्यसलाई कमजोर हुन दिइने छैन ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij