• Friday 24th of July 2026

ताजा जनादेश लिने कदम नै अग्रगमन : मन्त्री ढकाल


  • आशाका किरण

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको कदम अग्रगमन भएको बताउनुभएको छ ।

मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा उहाँले चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनःस्थापनको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाउनुभयो । “नेपाली भाषामा अग्रगमन भने अगाडि बढ्ने कुरा हो”, मन्त्री ढकालले भन्नुभयो, “जो निर्वाचन नगर भन्दै निर्वाचन आयोगमा जानुभएको छ, उहाँहरु नै प्रतिगमनकारी हो ।”

विघटन नभएको अवस्थामा मात्र संसद्को अवधि पाँच वर्ष हुने भनेर संविधानमा लेखिएको उहाँले जिकिर गर्नुभयो । सधैँका लागि प्रधानमन्त्रीले संसद् विघटन गरे भनेर केहीले गलत अर्थ लगाइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रमका अर्का वक्ता संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतले शुरुमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने बताउनुभयो ।

नेकपा स्थायी समितिका सदस्य नेम्वाङले जनतामा जाने प्रधानमन्त्रीको घोषणालाई तानाशाही कदम भनेर भ्रम छर्न खोजिएको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी भएकाले सोही पार्टीले सूर्य चिन्ह पाउने जिकिर गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij