• Friday 24th of July 2026

संसद पुनर्स्थापना भए लगत्तै युवाहरुलाई जस्तोसुकै चुनौतीको सामना गर्न तयार हुन प्रधानमन्त्री केपी ओलीको निर्देशन(भिडिओ)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ नेपालको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले मुलुक अहिले ठीक बाटोमा अघि बढिरहेकाले लोकतन्त्र र संविधानलाई तलमाथि हुन नदिइने प्रष्ट्याउनुभयो । उहाँले युवा कार्यकर्तालाई विचार र दृष्टिकोणका साथ सङ्गठित भएर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले आफ्नो आत्मविश्वासमा कुनै कमी नआएकोसमेत प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सुन्दर र समृद्ध नेपालको गन्तव्य निर्धारण गरेर युवाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्नसमेत युवालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले उचित विचार र दृष्टिकोणका साथ अघि बढ्न युवालाई आह्वान गर्नुभयो । उहाँले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्न युवा सङ्घलाई आग्रह गर्नुभयो ।

लोकतन्त्रलाई अझै सृदृढ र समृद्ध बनाएर अघि बढ्न आगामी निर्वाचनले बाटो तय गर्ने हिषाबले आफूले निर्वाचनको मिति तय गराएको प्रधानमन्त्रीले बताउनुभयो ।

वर्तमान अवस्थामा पार्टी भन्न लायक दल आफूले नेतृत्व गरेको नेकपा मात्रै रहेको जनाउँदै अध्यक्ष ओलीले अहिले पनि पार्टी एक ढिक्का रहेको दाबी गर्नुभयो । “पार्टी एक ढिक्का छ, बाटो बिराउनेलाई भन्न चाहन्छु, आउनुहोस्”, प्रधानमन्त्रीले थप्नुभयो ।
नेकपाका स्थायी कमिटी सदस्य एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बाटो बिराएर बाहिर गएका नेतालाई पार्टीमा फर्कन आग्रह गर्नुभयो ।
नेकपाका अर्का नेता पूर्वमन्त्री महेश बस्नेतले एकताको नाममा लामो समयदेखि निष्क्रिय रहेका सङ्गठनका गतिविधिलाई चलायमान बनाउन पार्टी र सङ्गठनको पुनर्गठन गरिएको बताउनुभयो । उहाँले युवा सङ्घलाई जुझारु सङ्गठनको रुपमा विकास गरेर अघि बढ्ने विश्वास दिलाउँदै साइबर सेनाको औपचारिक घोषणा गरेर अघि बढ्नेसमेत बताउनुभयो । त्यसमार्फत साइबरबाट हुने आपराधिक गतिविधिका साथै गलत प्रचारप्रसारलाई चिर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवसमेत मनाएको थियो । सङ्घको बैठक बुधबार पनि चल्ने छ ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।

फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको जानकारी दिनुभयो । गत माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस शुरु भई यही फागन ७ गते सबै पक्षको सुनुवाइ सकिएको थियो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij