• Saturday 25th of July 2026

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छाैँ : प्रधानमन्त्री ओली


  • आशाका किरण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताउनुभएको छ । कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उहाँले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गर्नुभयो ।
उहाँले आजै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताउनुभयो । हाल मासिक रु तीन हजार रहेको ज्येष्ठ नागरिकको भत्ता अरु बढाइने उहाँले घोषणा गर्नुभयो ।
नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्ल्ेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिनुभयो । आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताउनुभयो । औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र जनतालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो ।
समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले एक दिनमा देशभरि पाँच पुल बनेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “अब देशमा पुलपुलेसाको समस्या कतैपनि भोग्नुपर्ने अवस्था आउने छैन ।” उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यो साता देशभरि औद्योगिक पार्क स्थापना गरी देशलाई औद्योगिक युगतर्फ प्रवेश गराएको विचार राख्नुभयो ।

उहाँले नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल दुई दुई पटक प्रधानमन्त्री हुँदा विकास र राष्ट्रियताको विषय कमजोर भएको तर वर्तमान नेकपा अध्यक्ष ओली नेतृत्वको सरकार लोकप्रिय भएकाले त्यसविरुद्ध लाग्नु देश र पार्टीको हितकर नभएको बताउनुभयो । उहाँले पार्टी छाडेर जाने समूहलाई आत्मालोचित भएर घर फर्किन आए एकता अझै सम्भव भएको स्पष्ट पार्नुभयो ।
कमल– ७, गौरादह– ५ र दमक –१० को सङ्गमस्थलमा २१ सय बिघा जग्गामा औद्योगिक पार्क निर्माण हुन लागेको हो जसमा चीन सरकारको रु ६५ अर्ब लगानी हुने भएको छ । पार्कमा पहिलो चरणमा २६ विदेशी कारखाना स्थापना हुने र त्यसबाट उत्पादित वस्तु विदेशमा निर्यात हुने पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij