• Saturday 25th of July 2026

महिला हिंसासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन्छः मन्त्री महतो


  • आशाका किरण

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा अन्त्यका निम्ति भएका ऐन÷कानूनलाई परिमार्जन गरी कडा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय महिला आयोगको १९औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै उहाँले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका निम्ति कानूनमा भएका कमजोरी सुधार गर्दै प्रभावकारी कार्यान्वयनसँगै सचेतना फैलाउने सरकारको योजना सुनाउनुभयो ।

उहाँले संविधान र ऐन÷कानूनले दिएको अधिकार प्रयोग गर्दै जनतालाई सेवा पुग्नेगरी काम गर्न आयोगलाई निर्देशनसमेत दिनुभयो ।

पूर्वमहिलामन्त्री थममाया थापाले महिलाबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका निम्ति एकजुट हुनुपर्ने बताउनुभयो भने पूर्वसमाजकल्याणमन्त्री भद्राकुमारी घलेले पछिल्लो राजनीतिक अस्थिरताका कारण जनतालाई सास्ती भएकाले स्थिरताका लागि आग्रह गर्नुभयो ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगले महिलाविरुद्ध हिंसा निवारण, महिला सशक्तीकरण, खबर गरौँ ११४५ हेल्पलाइन सेवामार्फत प्रभावितलाई मनोसामाजिक परामर्श, कानूनी सहायता, आश्रयस्थलसम्बन्धी सेवा जनचेतना अभिवृद्धिलगायत क्षेत्रमा अनुगमन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । दिवसका अवसरमा आयोगले पूर्वमन्त्री घले र अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्ने मुस्कान खातुनलाई सम्मान गरेको छ ।

विसं २०५८ मा स्थापिवत आयोगले लैङ्गिक समानता, सशक्तीकरण र लैङ्गिक हिंसा निवारणमा जोड दिँदै आएको छ । महिला अधिकारको सुनिश्चितता गर्न नेपालको संविधानले आयोगलाई संवैधानिक अङ्गका रुपमा मान्यता दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij