• Wednesday 9th of September 2026

एमाले संसदीय दलको विधान संशोधन गर्न विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन


  • आशाका किरण

नेकपा (एमाले)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलका सदस्यमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला पौडेल रहनुभएको छ । तामाङले एमालेको संसदीय दलको विधान विसं २०७२ यता संशोधन नभएकाले सोका लागि कार्यदल गठन गरिएको जानकारी दिनुभयो । यही चैत ७ गते बस्ने संसदीय दलको अर्को बैठकले संशोधन विधान पारित गर्ने बताइएको छ । उहाँले पुरानो विधानका आधारमा २५ सदस्यीय संसदीय बोर्डसमेत गठन गरिएको बताउनुभयो । बोर्डमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्यका रूपमा रहनुभएको छ ।

यस्तै बोर्ड सदस्यमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकु-याल, खिमलाल भट्टराई, पौडेल, तामाङ, डा बिन्दा पाण्डे, राधाकुमारी ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, रेखा झा, नारदमुनि राना, मोहन बानियाँ, विमला विक, भूपेन्द्र थापा, राजेन्द्र राई, खेम लोहनी र सरिता न्यौपाने रहनुभएको छ । एक जना पछि मनोनयन गरिने जनाइएको छ । उहाँले बैठकमा नआउनेलाई कारवाही गर्नका लागि कुनै छलफल नगरिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij