विदा भएर जाने हरेक वर्ष मानिसका निम्ति अविस्मरणीय बनेको हुन्छ । कसैलाई दुःख त कसैलाई सुख, अनि कसैलाई सफलता, कसैलाई असफलता र कसैलाई मिलन त कसैलाई विछोडको सौगात दिएर विदाइका हात हल्लाउँदै कहिल्यै नफर्किने गरी पुरानो वर्ष टाढा बनिदिन्छ । तर बितेको वर्षमा घटेको घटना हाम्रो मानसपटलभित्र मौन रूपमा बसिरहेको हुन्छ ।
नयाँ वर्ष मुसुक्क मुस्कुराउँदै चुनौती र अवसरसँग जुध्न नयाँ उत्सुकता र जोस जगाउँदै आउँछ । त्यो अवसर छोपेर कसैले सफलताको शिखर चुम्न सक्छन् भने कोही असफलता हात पारेर सफलताका लागि निरन्तर संघर्ष गरिरहन्छन् । वि.सं.२०७७ विश्व जगतका निम्ति पृथक र ऐतिहासिक बनेर टाढा भएको छ ।
अघिल्लो वर्षको उत्तरार्धमा विश्व जगतमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण निकै कष्ट दिँदै २०७७ ओझेलमा परेको छ । त्यो वर्षले मानिसलाई पिँजडाभित्रको सुगाजस्तै मनभरि भय बोकेर बस्नुपर्ने बनाई दियो, जो अहिलेसम्म पनि कायम नै छ । हुन त मानव समुदायका लागि अदृश्य भाइरससँगको लडाइँ यो पहिलो होइन । अनेक महामारीसँग जुध्दै मानिस अहिलेको अवस्थामा आइपुगेको हो । तर, त्यो परिवेश अहिलेको भन्दा ज्यादै भिन्न थियो । साक्षरता, वैज्ञानिक आविस्कार र स्वास्थ्योपचारको व्यवस्था अत्यन्त कमजोर रहेको वेला र विज्ञानले फड्को मारिसकेको अवस्थालाई निश्चय पनि दाँज्न मिल्दैन । पृथ्वीमा आउने हरेक विपत्तिसँग जुध्न मानिसले अहिले प्रविधिको विकास गरेको छ । तर कोरोना भाइरसले हाम्रा बृहत् वैज्ञानिक आविस्कारहरूलाई एकएक गरी असफल तुल्याई दियो ।
स्वास्थ्य क्षेत्रका उपलब्धि कोभिड–१९का अघि निरीह सावित भए । विपतबाट पार पाउन मानिस–मानिसबीच दूरी कायम गराउन निश्चय नै सजिलो काम थिएन । यसको एक मात्र विकल्प लकडाउन थियो । हरेक देशले आफ्नो सीमा बन्द गर्दै मानिसको आवतजावतमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था आयो । महिनौँको बन्दाबन्दीले जनजीवनमा ठूलो सङ्कट पैदा गर्यो । तर भाइरससँगको हाम्रो लडाइँ रोकिएन । निरन्तर प्रयासपश्चात् वैज्ञानिकहरू छोटो समयमै भाइरसको जीन, यसलाई परीक्षण गर्ने औजार र नियन्त्रण गर्ने उपाय पत्ता लगाउन सफल भए । एक वर्षभित्र नै यसरी भाइरसविरुद्धको खोप उपलब्ध हुनु ठूलो उपलब्धि मान्नुपर्छ ।
जे जति कठिनाइको सामना गर्नुपरे पनि यो विपत्तिले हामीलाई ठूलो पाठ पढायो । राष्ट्र–राष्ट्रबीच सामाजिक सहिष्णुताको विकास गरायो । एक–अर्काप्रति सहयोगको भावना ल्याइदियो । शैक्षिक संस्थाको अध्ययन–अध्यापनदेखि कार्यालयका काम अनलाइन प्रणालीमा गर्न सिकायो । वस्तु तथा सेवाको कारोबारमा ई–कमर्स जस्तो पद्धतिको प्रयोग व्यापक भयो । यतिमै कोभिड–१९ विरुद्धको लडाइँ सकिएको छैन । आशा गरौँ, छिटै हाम्रो जीत हुनेछ । २०७७ को विदाइसँगै वर्ष २०७८ हाम्रो लागि खास बन्नेछ । नयाँ वर्षको आगमनसँगै तपाईँको जीवन फूलझँै सुन्दर र रङ्गीन बनोस् । अनगिन्ती अभिलाषा पूरा हुँदै जाऊन् ।
तपाईँ लगायत तपाईंको परिवारमा सुख, शान्ति र सु–स्वास्थ्य तथा दीर्घायुको कामनासहित उत्तरोत्तर प्रगतिको कामना ।
नयाँ वर्ष २०७८ सालको शुभकामना !
