• Wednesday 9th of September 2026

सङ्कटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्छ : कांग्रेस


  • आशाका किरण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न सरकारले अपिल गर्नु स्वभाविक र आवश्यक भएको जनाउँदै सङ्कटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने उल्लेख गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सङ्कटमा ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पुष्टि भएको बताउनुभएको छ । “पुरै वर्ष दिन सत्ता द्वन्दमा बिताउने, संसद् विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको ब्यवहार हो यो”, विज्ञप्तिमा उल्लेख छ ।

आजको सङ्कट पार लगाउन नसकिने जनाउँदै कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोनाविरुद्धको सङ्घर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई अपिल गरेको छ । साथै बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो, सङ्क्रमणको विस्तार कुन हदसम्म हुनसक्दछ भन्ने विज्ञ अनुमान र विश्लेषण छ, त्यो हद सामना गर्न शैययालगायतको विस्तारमा सरकारसँग बजेट, पूर्वाधार या इच्छाशक्ति के अभाव छ यसमा योजनावद्ध र दृढ़ ढङ्गले प्रस्तुत हुन जरुरी रहेको कांग्रेसको सुझाव छ ।

साथै कांग्रेसले नीजि क्षेत्रका अस्पताललाई कोरोनाविरुद्धको सङ्घर्षमा बृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने, राजनैतिक दल, सङ्घसंस्था र समाजसँंग सरकारले गरेको सहयोग अपेक्षा के हो, फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने, खोपको पछिल्लो खेप आयातमा अन्तरराष्ट्रिय पहलकदमी कति तीव्रतर छ, यी समग्र विषयमा सरकार प्रष्ट, पारदर्शी, योजनावद्धरुपमा प्रस्तुत हुनुपर्ने जनाएको छ ।

सङ्कटका बेला हरेक नागरिकको अभिभावक राज्य हुनुपर्ने, बेडको अभाव हुनथाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पुरा नहुने उल्लेख गर्दै प्रवक्ता शर्माले परिस्थितिको गम्भीरताबमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij