‘ढुङ्गाको मूर्ति पूजा गरेर पनि भगवानको दर्शन हुन्छ ?, धर्म हुन्छ ?’ भन्छन् आफूलाई भौतिकवादी मान्नेहरू । उनीहरू ढुङ्गा वा धातुको मूर्तिमा प्रसाद चढाउनुको साटो दुःखी गरिबलाई खुवाउनु राम्रो भन्छन् । तर आध्यामिक पक्षबाट हेर्ने हो भने यसको छुट्टै महत्त्व छ ।
मूर्ति वा पीठपूजाभित्र गहिरो दर्शन लुकेको छ । मूर्तिपूजन मानिसको आस्थाको कुरा हो । तर केमा पूजा गरेको भन्दा पनि व्यक्तिको भाव कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण छ । चाणक्य भन्छन्–
न देवो विद्यते काष्ठे न पाषाणे न मृण्मये ।
भावे हि विद्यते देवस्तस्माद्भावो हि कारणम् ।।
अर्थात् देवता न काठमा छन् न ढुंगामा त माटोको मूर्तिमा नै । देवता त भावमा विद्यमान् छन् । भाव सबैको कारण हो । अर्थात् जप, ध्यान पाठ वा मूर्तिपूजा जे नै गरे पनि भावना सबैभन्दा ठूलो कुरा हो ।
वैदिक हिन्दु धर्ममा देवीदेवतासँग साक्षात्कार गर्ने विभिन्न माध्यम छन् । मानिसको तह र तप्काअनुसार ईश्वरको आराधना गर्ने छुट्टाछुट्टै विधि छन् ।
आफूसँग प्राप्त ज्ञानको क्षमताअनुसार जप, ध्यानबाट परमेश्वरसँग साक्षात्कार गर्ने वैदिक विधि हो । तर सबैसँग त्यो सामर्थ्य नहुने र समयको अन्तरालसँगै सबैसँग त्यो शक्ति नभएका कारण देवीदेवताका मूर्तिहरूको आवश्यक्ता पर्यो ।
वैदिक र पौराणिक ग्रन्थमा उल्लेख भएअनुसारको स्वरूप कल्पना गरेर मूर्ति बनाइयो र यसको पूजा आराधनाबाटै धार्मिक र आध्यात्मिक सुखानुभूति गर्न थालियो । वेद र पुराणका यी मन्त्रको कल्पनाबाट मानिसले मूर्ति बनाएको र त्यसमा प्राणप्रतिष्ठा गरी मूर्ति, प्रतिमा वा पीठपूजाको परम्परा बसालेका हुन् ।
