• Thursday 10th of September 2026

गण्डकीमा समृद्धिका कार्यक्रम शुरु : निवर्तमान मुख्यमन्त्री गुरुङ


  • आशाका किरण

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू नेतृत्वको सरकारले प्रदेशमा समृद्धिका कार्यक्रम शुरु गरेको बताउनुभएको छ ।

मुख्यमन्त्रीको सरकारी निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशका जनताका भावना, आकाङ्क्षा र विश्वासको कदर गरेर नै यो प्रदेशलाई देशभरका प्रदेशमध्ये अब्बल प्रदेश, उत्कृष्ट प्रदेश सरकार र प्रभावकारी प्रदेशसभा बनाउन सफलता प्राप्त भएको बताउनुभयो ।

“सीमित साधन स्रोत र बजेटका आधारमा हामीले प्राप्त गरेका उपलब्धिहरु लोभ लाग्दा छन्”, उहाँले भन्नुभयो, “सङ्घीयताका कोशेढुङ्गा बनेका छन्, प्रदेश सरकार गठन गरी हामीले कार्य प्रारम्भ गर्दा शून्य अवस्थाबाट प्रारम्भ गरेका थियौँ, अहिले प्रदेश गौरवका आयोजनाअन्तर्गत कोरला त्रिवेणी सडक, शालिग्राम कोरिडोर, प्रदेश प्रशासनिक भवन, प्रदेशसभा भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवन निर्माणका कार्य प्रारम्भ गरिएको छ ।”

एक निर्वाचन क्षेत्र एक सडक र स्थानीय तहका केन्द्र जोड्ने सडक, उज्यालो गण्डकी प्रदेश, एक घर एक धारा खानेपानी योजना, प्रदेश शिक्षण अस्पताल निर्माण, गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानका पूर्वाधार निर्माण, पृथ्बी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति, प्रादेशिक औद्योगिक क्षेत्रको स्थापना जस्ता समृद्धिका कार्यक्रम शुरुआत भएको उहाँले बताउनुभयो ।

नेपालको राजनीतिमा मडारिएको आग्रह, कुण्ठाजन्य आक्रोश र बदलाभावले नेकपा (एमाले)को यहाँको सरकारलाई विस्थापित गरिएको उल्लेख गर्दै उहाँले नेपालको लोकतन्त्रको इतिहासमा किन बारम्बार बहुमत प्राप्त सरकारलाई अपदस्थ गर्ने षड्यन्त्रमा स्वयम् दलहरु र तिनको नेतृत्व पङ्क्ति संलग्न रहन्छ भन्दै प्रश्न गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व केवल विद्रोह गर्नका लागिमात्र हो कि यो निर्माण र विकासको अगुवा पनि हो भन्ने प्रश्नले आफूलाई बारम्बार झस्काउने गरेको चर्चा गर्दै उहाँले यी सबै अवरोध पन्छाएर समाजको विकास र रुपान्तरणको नेतृत्व लिनै पर्ने तथा टुटाउन खोजिएका जनताका सपना पूरा गर्नै पर्नेमा जोड दिनुभयो ।

सत्तामा हुँदा र नहुँदा, पद पाउँदा र नपाउँदा बोलिने भाषा र गरिने व्यवहार निरपेक्ष हुनुपर्ने उल्लेख गर्दै उहाँले जनताप्रति गरिने विश्वासघात कुनै पनि तर्कमा साबित हुन नसक्ने बताउनुभयो ।

राजनीति गतिशील हुने र यो गतिशीलता समाज तथा प्रकृतिको द्वन्द्वबाट प्राप्त हुने जनाउँदै गुरुङले समाज र यसका परिवर्तनको गति मनोगत आग्रहबाट चालित हुन्न यो त विज्ञानको नियमअनुसार नै चल्नेमा जोड दिनुभयो ।

कोरोना महामारीका बेलामा पनि सत्ता राजनीतिको दाउपेचमा अल्झिनु न्यायसङ्गत हुँदैनथ्यो भन्दै उहाँले केन्द्रीय राजनीतिको सिकार प्रदेश सरकारमा गरिनु जायज हुन नसक्ने चर्चा गर्नुभयो ।

लोकतन्त्र भनेको अराजकता र भीडतन्त्र केही पनि नभएको जनाउँदै उहाँले लोकतन्त्रमा सत्तामा रहनु र सत्ताबाहिर हुनु सामान्य नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जन अभिमतविरुद्ध बञ्चरो प्रहार गर्ने प्रवृत्ति लोकतन्त्र, सङ्घीयता र गणतन्त्रका लागि हानि पु-याउने प्रवृति हो ।”

उहाँले प्रदेशमा सरकार सञ्चालनका क्रममा सहयोग पु-याउने सत्ता साझेदार र प्रतिपक्षी सबै राजनीतिक दल, कर्मचारीतन्त्र, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, समर्थक शुभचिन्तक सबैलाई सहयोगका निम्ति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij