नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पु¥याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताउनुभएको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताउनुभयो । नेपाली जनताले विकास र सुशासनका लागि कम्युनिष्ट सरकार नै चाहिन्छ भन्ने महसुस गरेको उहाँले बताउनुभयो ।
आफूले नेतृत्व गरेको सरकारका कारण आमजनताको सरकारप्रति आशा र भरोसा बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो ।” पूर्वप्रधानमन्त्री ओलीले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितलगायतका नेताले पार्टी र जनताका लागि निस्वार्थ रुपमा योगदान गरेको उल्लेख गर्नुभयो । उहाँहरूले देश र पार्टीका लागि व्यक्तिगत स्वार्थ र अहम त्यागेर लागेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “पुष्पलालले काँचो चना खाएर पनि पार्टी र देश बनाउन लाग्नुभएको थियो ।” एमालेले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा अगुवाई गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । परराष्ट्र तथा औद्योगिक नीति, व्यापार, कृषि, सिँचाइ सबैमा एमालेले लिएको नीति नै राष्ट्रिय नीति बन्ने गरेको उहाँले बताउनुभयो ।
सत्यका पक्षमा लाग्ने व्यक्तिलाई बिगतदेखि नै विभिन्न पक्षले असहयोग गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ऋषिमुनिका तपस्या भाड्नेदेखि बुद्धलाई गलत देख्नेहरू नभएका होइनन् । त्यो कुरा अझैसम्म रहेको छ ।” प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले विगतमा एकीकरण भएको कम्युनिष्ट पार्टी केके कारणले गर्दा फुट्यो भनेर समीक्षा गर्नुपर्र्ने औँल्याउनुभयो ।
एमाले स्थायी कमिटी सदस्य केशव बडालले तुलसीलालको पार्टी र देशप्रतिको निष्ठा भावबाट हामीले धेरै कुरा सिकेर अवलम्बन गर्न सकिनेमा जोड दिनुभयो ।
एमाले पालिकास्तरको अधिवेशन आगामी असोज ९ गतेभित्र
नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठकले पालिकास्तरको कमिटीको अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटिको बैठकले आज पार्टी सङ्गठनसम्बन्धी काम निरन्तरता दिँदै पालिका कमिटीको अधिवेशन सो मितिमा गर्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । बैठकले साउन २४ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ । स्थायी कमिटीको बैठक सोमबार पनि जारी रहने बताइएको छ ।
यसअघि शनिबार बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित भएको थियो । प्रतिष्ठानमा नै बसेको बैठक पार्टी एकताका लागि थप पहल गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबारसम्मका लागि स्थगित गर्नुभएको थियो । बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमाथि छलफल राखिएको थियो ।
यसैगरी शनिबार नै अध्यक्ष ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलमा पार्टी एकताका लागि दृढतापूर्वक लाग्ने सहमति भएको थियो ।
सिंहदरबारमा भएको पार्टी आन्तरिक विवाद समस्या समाधान कार्यदलका नेताहरू सहभागी छलफलमा कुनै पनि हालतमा पार्टी एकतालाई जोगाउन लाग्ने गरी छलफल भएको थियो ।
कार्यदलले गत २७ गते १० बुँदे सहमति गरेको थियो । निर्धारित समयभन्दा केही ढिला गेर शुरु बैठकमा नेपाल पक्षीय नेता सहभागी नभए पनि पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी थिए ।
