• Wednesday 9th of September 2026

अखिल (क्रान्तिकारी)को सम्मेलन असोजमा


  • आशाका किरण

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ । केन्द्रीय समितिको भर्चुअल बैठकले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिताका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२औँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ असोज ८ देखि १० गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

यसका लागि विभिन्न १० उपसमितिसमेत गठन गरिएको छ । मूल व्यवस्थापन तथा प्रतिवेदन लेखन उपसमिति संयोजक रन्जित तामाङ, प्रचार तथा प्रसार उपसमिति उपाध्यक्ष बस्नेत, आर्थिक उपसमिति पञ्चा सिंह, अतिथि व्यवस्थापन उपसमिति दीपक देवकोटा, प्रतिनिधि चयन तथा अभिलेखीकरण उपसमिति तिलकराज भण्डारी, मेस व्यवस्थापन उपसमिति विजय गौतम, विधान संशोधन उपसमिति उत्तम अधिकारी, स्वास्थ्य उपसमिति दीपेश पुन, स्वयम्सेवक उपसमिति इन्द्र भुसाल र प्राविधिक उपसमिति रविकिरण यादव रहनुभएका छ ।

यसअघि क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलन २०७४ सालमा भएको थियो । सम्मेलनमा भौतिक उपस्थितिमा गर्ने निर्णय गरेको छ । उद्घाटन सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठान र बन्दसत्र कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पस हुने भएको उहाँले जानकारी दिनुभयो । सङ्क्रमण बढ्दै गए भने सम्मेलन भर्चुअलबाट गर्ने निर्णय क्रान्तिकारीले गरेको छ । कोरोना भाइरसका कारणले सम्मेलनमा उपस्थित हुने प्रतिनिधिको सङ्ख्या घटाएर सात सय ९९ पु¥याइएको छ । यसअघि दुई हजार दुई सय २२ जना प्रतिनिधि रहेका थिए ।

प्रदेश समिति थप कार्यकारी बनाउने र केन्द्रीय समितिको सङ्ख्या घटाउन उहाँले जानकारी दिनुभयो । अहिले क्रान्तिकारीको दुई सय ४३ जनाको केन्द्रीय समिति रहेको छ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । कार्यसमितिको दुईवर्षे कार्यकाल रहेको छ । यसैबीच माओवादी निकट योङ् कम्युनिष्ट लिग (वाईसीएल)को पनि राष्ट्रिय भेला चलिरहेको छ । भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।

यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी निकट अखिल (क्रान्तिकारी)ले पनि आगामी असोज ६ देखि ८ गतेसम्म पोखरामा २२औँ राष्ट्रिय सम्मलेन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij