• Saturday 25th of July 2026

पार्टी फुट गराउनु गलत होः नेता पाण्डे


  • आशाका किरण

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुद बनाएर लैजानुको साटो फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताउनुभयो ।

पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवं अन्तक्र्रियाबाट समाधान गर्न पार्टी भित्रै अन्तरसङ्र्घष गर्नुपर्ने अवस्थामा समग्र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने गरी फुटका अवस्थामा लगिएको उहाँको भनाइ छ ।

पार्टी एकता कार्यदलका सदस्यसमेत रहनुभएको नेता पाण्डेले भन्नुभयो, “पार्टी एकताका सम्बन्धमा माधव नेपाल समूहले नै अघि सारेका छ बुँदालाई नै समेट्दै १० बुँदे खाका तयार गरिएको हो जुन बुँदामा माओवादी केन्द्रबाट एमालेमा आएका नेता कार्यकर्तालाई पनि समेटेको छ । दश बुँदेलाई पनि आत्मसात् गर्न नसकी माधव नेपाल समूहले पार्टी फुटको अवस्थामा पु-याएको छ ।”

पार्टीमा समयसापेक्षरुपमा युवा जनशक्ति आउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समयको मागलाई आत्मसात् गर्नसक्ने नेतृत्व वर्तमानको आवश्यकता भएको बताउनुभयो । एकमना सरकारलेसमेत राज्यलाई सही निकास दिन अप्ठ्यारो परेको नेपालको वर्तमान अवस्थामा विभिन्न दल मिलेर बनेको गठबन्धन सरकारले समस्याको समाधान गर्न नसक्ने उहाँको भनाइ छ ।

एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “एमसिसीको विषय यसअघि नै संसद्मा छलफल हुनुपर्नेमा जोड दिँदै उहाँले यसका गतल र सही पक्षबारे संसद्मै छिनोफानो गरी निष्कर्ष निकालेको भए अहिलेको अवस्था सिर्जना हुने थिएन ।”

प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजाराम पौडेलले मुलुकको समसामयिक गतिविधि एवं यस क्षेत्रको पत्रकारिताको अवस्थाबारेमा जानकरी गराउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij