• Saturday 25th of July 2026

अझै टुङ्गिन सकेन काठमाडौँ काँग्रेसको क्रियाशील सदस्यता


  • आशाका किरण

–अच्युत रेग्मी

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा वडा अधिवेशन जारी रहँदा काठमाडौँमा क्रियाशील सदस्यता भने अहिलेसम्म टुङ्गिन सकेको छैन ।

जिल्लामा वडा अधिवेशन कहिले हुन्छ भन्ने अझै अन्योलता छ । क्रियाशील सदस्यता विवाद छानविन समितिले सदस्यताको विवाद टुङ्गो लगाएर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए पनि कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद कायम रहेको जनाउँदै निर्वाचन समितिले क्रियाशील सदस्यताको नामावलीलाई अन्तिम रुप नदिँदा वडा अधिवेशन अन्योलमा परेको हो ।

काँग्रेस काठमाडौँ क्षेत्र नं ७ का पूर्वसभापति धर्म अर्याल काठमाडौँमा चाँडो क्रियाशील सदस्यता टुङ्ग्याएर वडा अधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुहुन्छ । “एक पक्षले अर्को पक्षलाई सिध्याउने नाममा काँग्रेसभित्र क्रियाशील सदस्यता विवाद भइरहेको छ, जहाँ विवाद छ, त्यहाँ केन्द्रीय नेतृत्व बसेर विवाद समाधान गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ । केन्द्रीय नेतृत्वले चाहेका खण्डमा चार दिनमा देशभर देखिएको क्रियाशील सदस्यता विवाद समस्याको समाधान हुने उहाँको भनाइ छ ।

काँग्रेस काठमाडौँकी महासमिति सदस्य प्रतिमा गौतम यथाशीघ्र क्रियाशील सदस्यता टुङ्ग्याएर अधिवेशनमा जानुपर्ने बताउनुहुन्छ । पार्टीले महाधिवेशनको कार्यतालिका प्रकाशित गरेसँगै काठमाडौँमा चुनावको माहोल सिर्जना भइसकेको उहाँको भनाइ छ ।

“काठमाडौँको क्रियाशील टुङ्गो नलाग्दा आम नेता कार्यकर्तामा अन्योलता छाएको छ”, उहाँ भन्नुहुन्छ । काँग्रेस काठमाडौँ महानगरपालिका–२६ का इकाइ सचिव गणेश रिजाल अरु जिल्लाभन्दा पनि काठमाडौँको अधिवेशन चाँडो हुनुपर्नेमा विवादका कारण हुन नसक्नु दुःखद् भएको बताउनुहुन्छ । सबै सदस्यको विवाद मिलाएर चाँडो अधिवेशन गर्नुपर्ने उहाँको भनाइ छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरे हालसम्म देशभर ५७ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिसकेको र विवाद टुङ्गिएको वडामा भदौ २४ गतेसम्म वडा अधिवेशन सम्पन्न भइसक्ने बताउनुहुन्छ । बाँकी जिल्लाको क्रियाशील सदस्यता विवाद पनि विस्तारै टुङ्ग्याइँदै वडा अधिवेशनतर्फउन्मुख गर्दै लैजाने उहाँको भनाइ छ ।

काँग्रेसको हाल प्रदेश नं १ मा मोरङ, प्रदेश नं २ का सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा, वाग्मती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ र रसुवा, लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, र कैलालीका क्रियाशील सदस्यको सूची विवाद रहेको छ । झण्डै नौ लाखको सङ्ख्यामा रहेका पार्टी क्रियाशील सदस्य पार्टीको गाउँ, नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कााग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् ।

मुलुकभरका सबै छ हजार ७४३ वडामा काँग्रेसका अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र एक लाख २१ हजार ६८१ सदस्य निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ । यसबाहेक मनोनीत हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

काँग्रेसले यसअघि नै गाउँ, नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ–नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिसकेको छ ।

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन अगामी असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने कार्यतालिका सो पार्टीले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij