• Saturday 25th of July 2026

प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध


  • आशाका किरण

सङ्घीय संसद्को नवौँ अधिवेशन सुरु भएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठक आरम्भ भएपछि राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर अधिवेशन प्रारम्भका अवसरमा सांसदलाई स्वागत गरेपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसदहरूले आफ्नो स्थानबाट उठेर अवरोध गरेका हुन् ।

सभामुख सापकोटाले पहिलो बैठकमा स्वागत गर्न नपाउँदै अवरोध नगर्न आग्रह गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिनुभयो । प्रमुख सतेचक भट्टराईले एमालेले कारबाहीका लागि सिफारिश गरेका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै विरोध जनाउनुभयो । उहाँले विगतमा अन्य दलका कारबाहीको सिफारिशलाई तत्कालै सूचना प्रकाशन गरिएको तर एमालेको सिफारिशलाई विचाराधीनमा राखेर दल विभाजन भइसकेपछि कारबाही गर्न नपर्ने निर्णय गरेर भन्दै सदनको कारबाही चल्न नदिने घोषणा गर्नुभयो ।

सांसदहरूले विधिको शासन कायम गर्न, संसदीय सर्वाेच्चता कायम गर्न माग गर्नुभयो । सभामुख सापकोटाले मुलुकको संविधान र कानून तथा संसद्को मर्यादा र परम्पराभन्दा बाहिर नजान आग्रह गर्दै आफूले प्रतिनिधिसभाको नियमावलीबमोजिम नै काम गरेको जिकिर गर्नुभयो । त्यसपछि सभामुख साकोटाले १५ मिनेटका लागि बैठक स्थगन गर्नुभयो ।

आजको बैठकमा सभामुखको अनुस्थितिमा बैठकमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने, बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश गर्नेलगायत सम्भावित कार्यसूची छ । यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’, आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८, ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ ‘शपथसम्बन्धी अध्यादेश, २०७८’, ‘रेल्वे सम्बन्धी अध्यादेश, २०७८’, ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८’ लाई स्वकृतिका लागि पेश गर्ने, ‘कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ स्वीकृतिका लागि पेश गरिने कार्यसूची छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij