• Saturday 25th of July 2026

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ : नेता केसी


  • आशाका किरण

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आज यहाँ आयोजना गरेको ‘क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान’ कार्यक्रममा उहाँले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताउनुभएको हो ।

“सत्य र न्यायका पक्षमा लड्ने वकिलबीच एकापसमा झगडा हुनु दुःखद् हो, सरकार न्यायालयभित्रको झगडामा बोल्नुपर्छ”, उहाँले भन्नुभयो । पार्टीका पूर्वसहमहामन्त्रीसमेत रहनुभएका नेता केसीले पार्टीभित्र वैचारिक आन्दोलन आवश्यक रहेको बताउँदै पार्टी नेताले होइन, नीतिले, व्यक्तिले होइन, विचारले चल्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले सहमतिमा पार्टीका अधिवेशन सम्पन्न गरेर कांग्रेसलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभयो । एकताबद्ध पार्टी निर्माण भएमात्र निर्वाचनमा कांग्रेसलाई कुनै पार्टीले हराउन नसक्ने उल्लेख गर्दै उहाँले सामूहिक नेतृत्व छनोट गर्नुपर्ने बताउनुभयो । पार्टीका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जटिल परिस्थितिमा हुनलागेको महाधिवेशनको कार्यतालिका अब परिवर्तन हुन नसक्ने भन्दै महाधिवेशनमा होमिन आम कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, बागमती प्रदेशसभा सदस्य जीवन डङ्गोल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति निलकाजी शाक्य, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जन, कृष्णमान महर्जन, कांग्रेस काठमाडौँ महानगरपालिका–२६ का उपसभापति गणेश रिजाललगायतले पार्टीको अधिवेशनको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा लगेर पोख्न नहुने बताउनुभयो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)का सभापति एवं काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनका लागि अधिवेशनमा सक्षम व्यक्तिलाई टिकट दिनुपर्ने बताउनुभयो । नेताको चाकडी गरेर टिकट लिने परिपाटीको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij