• Saturday 25th of July 2026

कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउन पार्टी पुर्नगठन गरिएको मन्त्री विरोध खतिवडाको दावी


  • आशाका किरण

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य विरोध खतिवडाले आफुहरुले एकिकृत कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गरेको दावी गर्नुभएको छ । मकवानपुर जिल्लाको फाखेल गाँउपालिकामा पार्टीको वृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले आफुहरु टुटेको र फुटेको नभई एकिकृत कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउन युगको माग अनुसार पुर्नगठन गरिएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनुभएका नेता खतिवडाले आफुहरु गफ गर्न सरकारमा नआएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामी गफका लागि आएका होइनौं, विगतको सरकारले गरेको विकृतिलाई हटाउछौं, जुन काम सुरु समेत भइसकेको छ ।’
फाखेलमा भएको अहिलेसम्मकै विशाल र ऐतिहासिक कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले प्रत्येक वडामा आधारभुत स्वास्थ्य चौकी र हरेक पालिकामा एउटा अस्पताल बनाउने र जनतालाई स्वास्थ्यमा सहज रुपमा पहुँच दिने गरी सरकारले योजना बनाइरहेको अवगत गराउनुभयो ।

‘विगतको सरकारले बजेट, डिपीआर र अस्पताल कहाँ बनाउने भनेर जग्गाकै सुनिश्चीत नहुँदा समेत एकै दिन सबै पालिकामा अस्पताल शिलान्यास भनेर प्रपोगान्डा गरेको थियो, हामी चाँही जहाँ जहाँबाट यि तिन कुराको सुनिश्चितता सहित आवेदन आँउछ, त्यहाँ तत्काल पैसा पठाएर अस्पताल निर्माण सुरु गछौं । ’ नेता खतिवडाले भन्नुभयो ।
कुन्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बल, प्रदेश समिति सदस्य तथा जिल्ला अध्यक्ष श्रीधर पोखरेल, प्रदेश समिति सदस्य गौतमवुद्ध लामा, इन्द्रसरोवर गाँउपालिका अध्यक्ष तथा जिल्ला कमिटीका उपसचिव जीवन लामा, जिल्ला सचिवालय सदस्य तथा स्वास्थ्य मन्त्री खतिवडाका प्रमुख स्वकीय सचिव माधव तिमल्सिना, जिल्ला सचिवालय सदस्य तथा युवा संघका जिल्ला अध्यक्ष किरणमान बल लगायतको आतिथ्यता रहेको थियो ।
भेलाले कुन्साङ लामाको अध्यक्षतामा ६५ सदस्यीय नेकपा (एकिकृत समाजवादी)को गाँउ पालिका स्तरीय कमिटी तथा विष्णु महर्जनको अध्यक्षतामा ५५ सदीयीय युवा संघको पालिका स्तरीय कमिटी गठन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij