• Saturday 12th of September 2026

आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा छ : सभापति देउवा


  • आशाका किरण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताउनुभएको छ ।

प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उहाँले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गर्दै कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको बताउनुभयो । संविधान जारी भएपछि प्रदेशको यो ऐतिहासिक पहिलो अधिवेशन भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “केही महिनाभित्रै स्थानीय तहको निर्वाचन तथा एक वर्षभित्र सङ्घ र प्रदेशको निर्वाचनमा जाँदैछाँै । त्यसैले पनि १४आँै महाअधिवेशन लगत्तै हाम्रो ध्यान तीनै तहका चुनावतर्फ हुनुपर्छ । पार्टीका आन्तरिक चुनावमा हुने जितहार एउटा स्वभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा पार्टीका सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताको योगदानलाई स्मरण गर्दै अब सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउनुपर्ने उल्लेख गर्नुभयो । बलियो लोकतन्त्रमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने भन्दै प्रधानमन्त्री देउवाले मुलुकको विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ भन्ने विगतका घटनाक्रमले पुष्टि गरिसकेको उल्लेख गर्नुभयो ।

“मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाउने तथा जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सहभागि सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij