• Saturday 25th of July 2026

एकीकृत समाजवादीको सङ्गठन विस्तार


  • आशाका किरण

नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीयतहमा कमिटी गठन गर्ने अभियान अन्तर्गत हालसम्म नौ स्थानीय तहमा कमिटी गठन गरिएको हो ।

हालसम्म शिवनाथ, डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका, पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष महादेव भट्टले जानकारी दिनुभयो । शिवनाथ गाउँपालिकामा वीरभान मेहताको अध्यक्षतामा ६५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ ।

डिलाशैनीमा दीपक धामीको अध्यक्षतामा ५१ सदस्यीय, सिगासमा खेमसिंह धामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । पाटन नगरपालिकाको अध्यक्षमा लोकेन्द्र विष्टसहित ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१, मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।
गठन गरिएका सबै पालिकामा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मङ्सिर महिनाभित्र नेतृत्व चयन गरिने नेकपा एकीकृत समाजवादी बैतडीले जनाएको छ । एमालेसँग विभाजन भएपछि सो पार्टीले सङ्गठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने जनाइएको छ ।

मङ्सिरमा सबै पालिकामा सङ्गठन विस्तार गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष दिनेश ठगुन्नाले बताउनुभयो । एमालेमा रहँदा यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो । महादेव भट्ट अध्यक्ष रहेको १५१ सदस्यीय उक्त समानान्तर कमिटी समाजवादीमा समाहित भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij