• Saturday 25th of July 2026

सोह्र जिल्लामा कांग्रेसको अधिवेशन फागुन १५ गते


  • आशाका किरण

नेपाली कांग्रेसले यही फागुन १३ गतेका लागि पूर्वनिर्धारित १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ ।केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आएबमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको जनाएको हो ।

यसअघि कांग्रेसले अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको जिल्ला अधिवेशन फागुन १३ गतेका लागि निर्धारण गरेको थियो ।उल्लेखित १६ जिल्लाबाहेक अन्य जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन निर्धारित फागुन १० गतेभित्रै हुने समिति सचिव केशव रिजालले जानकारी दिनुभयो ।

पार्टीको विधानको व्यवस्था र सिद्धान्तलाई आत्मसात् गर्दै पार्टीको कुनै तहको अधिवेशनमा कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार हुन नमिल्ने निर्णयसमेत समितिले गरेको छ ।

महाधिवेशन प्रतिनिधिको उम्मेदवार भई पराजित भएको क्षेत्रीय प्रतिनिधिले भने एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा, जिल्ला कार्यसमितिको सभापतिबाहेक अन्य पद र तहको पदाधिकारी र सदस्य पदमा उम्मेदवार बन्न सक्नेछ ।विधानबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिले मनोनीत गर्ने बढीमा सात÷सात क्षेत्रीय प्रतिनिधिले पार्टीको १४आँै महाधिवेशनअन्तर्गत हुने जिल्ला अधिवेशनमा भाग लिन र जिल्ला कार्यसमितिको निर्वाचनमा मतदान गर्न नमिल्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij