• Sunday 13th of September 2026

विकासमा दत्तचित भएर लाग्छु : मुख्यमन्त्री राई


  • आशाका किरण

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको विकासमा दत्तचित भएर लाग्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा आज आयोजित ‘प्रदेश नं १ को आर्थिक रूपान्तरणका सम्भावित क्षेत्रहरू’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस प्रदेशमा अनेक सम्भावनाहरू छन् ती सबैलाई एकै पटक कार्यान्वयनमा ल्याउन पूँजीगत खर्चको अभाव रहेको प्रस्ट पार्दै राष्ट्रियताको रक्षा र समृद्धिको यात्रा पूरा गर्न विकास गर्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले सरकारसँग पूँजीगत खर्च अभाव रहेको समयमा स्वदेशी वा विदेशी निजी क्षेत्रहरूले सम्भावित क्षेत्रहरूमा लगानी लगाउन उदारता देखाउनुपर्नेमा जोड दिँदै प्रदेश लगानी प्राधिकरणको सुझाव गहकिलो छ भत्रुभयो । उहाँले अब मुलुकमा राजनीतिक क्रान्ति समाप्त भई आर्थिक क्रान्तिको समय आएको बताउँदै भारत र चीनको प्रगतिलाई नेपालले पछ्याउनुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री राईले हाम्रा जनशक्ति विदेश जाने र हामी विदेशी उत्पादनमा निर्भर रहनु पर्दा हाम्रो उत्पादन ठप्प हुने र बेरोजगार समस्या बढ्ने तर्क गर्दै स्वाभिमान र राष्ट्रियताको रक्षा गर्न दुई ठूला शक्तिको प्रगतिलाई पछ्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । विदेशी वा स्वदेशी लगानीका निम्ति ऐन, कानुन परिमार्जन गर्ने र शान्तिसुरक्षा एवं सुशासनलाई पनि सुधार गर्दै जाने उद्घोष गर्दै मुख्यमन्त्री राईले सबै विज्ञको ज्ञानलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशमा प्रशस्त रोजगार सिर्जना गर्न प्रदेशको सम्भावित क्षेत्रहरूका विकास हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेशको मुहारलाई परिवर्तन गर्न तथा नेपाली जनताको अनुहारमा हाँसो ल्याउन सरकारले विकासमा तीव्रता दिने धारणा राख्नुभयो ।

कार्यकममा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका प्राध्यापक डा उद्धव पोखरेल, अमेरिकन मिलिट्री युनिभर्सिटी अमेरिकाका प्राध्यापक मोदिनी अधिकारी, प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा सरोज कोइराला, नेपाल उद्योग परिसङ्घ, प्रदेश नं १ का अध्यक्ष भीम घिमिरे र नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ का अध्यक्ष टीकाराज ढकालले प्रदेशको आर्थिक रुपान्तरणका सम्भावित क्षेत्रहरूका बारेमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij