• Saturday 12th of September 2026

संविधानको रक्षाका लागि गठबन्धन : नेता सिंह


  • आशाका किरण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई÷दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा कसरी जाने भन्ने सहमति भएको छ, त्यहीअनुसार हुन्छ ।” कहाँ कुन जिल्लामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने उहाँको भनाइ थियो ।

भरतपुर महानगरपालिकामा कसरी अघि बढ्ने भन्ने विषयमा वार्ता र छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लास्तरीय नेताहरुले सभापतिलगायत अन्य नेताहरुसँग भेट गर्नुभएको छ, भेटपछि जुन एउटा समझदारी बनेको छ, त्यहीअनुसार पार्टी अघि बढ्छ ।”

स्थानीय निर्वाचनमा तालमेल आवश्यकता र औचित्यअनुसार गरिने उहाँको भनाइ छ । तालमेलका लागि जिल्ला तथा क्षेत्रमा संयन्त्र बनेको भन्दै उहाँले महानगरको विषयमा छिट्टै टुङ्गो लगाउने बताउनुभयो । अहिले कांग्रेस घोषणापत्र तयारी र गठबन्धनलाई कसरी अघि बढाउने भन्ने विषयमा लागेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij