• Thursday 10th of September 2026

एमाले अध्यक्ष ओली र सिपिसीका प्रमुख लिउबीच भेटवार्ता


  • आशाका किरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच आज शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष ओली निवासमा भएको सो भेटवार्तामा दुई पक्षीय सम्बन्धकाबारेमा छलफल भएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समयमा नेपालको क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा आएको बदलाबकाबारेमा पनि कुराकानी भयो, चीन नेपालसँगको पुरानो सम्बन्धलाई कायम राख्दै मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउन चाहन्छ भन्ने कुरा चिनियाँ पक्षबाट आएको छ ।” नेपाल र चीनले एक अर्काको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने बारेमा छलफल भएको भन्दै विदेश विभाग प्रमुख भट्टराईले चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । नेपाल चीनका लागि एक महत्वपूर्ण र भरपर्दो साझेदारको रुपमा चीनले लिँदै आएको कुरा लिउले उल्लेख गर्नुभयो ।

छलफलमा नेपालको भूमि प्रयोग गरेर चीन विरोधी कुनै पनि गतिविधि नहोस् भन्ने चीनको चाहनाप्रति एमाले अध्यक्ष ओलीले नेपाली भूमि कुनै हालतमा चीन विरोधी गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुभएको जानकारी दिनुभयो । भट्टराईले भन्नुभयो, “नेपालले अरु राष्ट्रसँग कस्तो सम्बन्ध राख्छ, त्यसमा चीनले चासो राख्दैन, तर चीनसँग नेपालको जुन सम्बन्ध विगतमा थियो, त्यो सम्बन्ध निरन्तर रहन्छ भन्ने चीनको नीतिबारे प्रष्ट पार्नुभयो ।”

चीनको कम्युनिष्ट पार्टीले चीनको हितमा काम गर्ने र नेपालको कम्युनिष्ट पार्टीले नेपालको हितमा काम गर्ने भएकाले यहाँका कम्युनिष्ट पार्टीलाई चीनले यसो गर उसो गर नभन्ने चीनको धारणा रहेको भट्टराईले बताउनुभयो । भेटवार्तामा अध्यक्ष ओलीसँग नेताहरु प्रदीप ज्ञवाली, विष्णु रिमाल र भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो । चार दिने नेपाल भ्रमणको क्रममा लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरिसक्नु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij