• Friday 24th of July 2026

उद्देश्यसहित गठबन्धन हुन्छ : महामन्त्री थापा


  • आशाका किरण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँ तालमेल के का लागि पहिले नै टुङ्गो लाग्नुपर्छ भन्नुभयो । महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तालमेल के का लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ ।” तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उहाँले स्पष्ट पार्नुभयो ।

आगामी निर्वाचनका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्छ भन्नुुभयो । निर्वाचन अघि गरिने तालमेल दलहरुका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यी कुरामा समझदारी हुँदैन भने तालमेल नगरेकै राम्रो ।” न्यूनतम समझदारी नबनी तालमेल गर्दा निर्वाचन जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उहाँको भनाइ छ । “तालमेलमा रहेका दलहरुमा खाली सिटको बाँडफाँट हुने । निर्वाचन जित्ने कुरालाई मात्रै ध्यान दिने, निर्वाचन जितिसके पछि आआफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा पर्देरहेछ भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीको २०७४ सालको निर्वाचनबाट देखेका छौँ ।” महामन्त्री थापाले भन्नुभयो, “ निर्वाचनमा एउटा पार्टीले एक्लै लड्दा बहुमत ल्याउने अवस्था छैन ।”

नेपाली कांग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको उहाँले बताउनुभयो । बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उहाँको भनाइ थियो । नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्नका लागि कांग्रेसलाई बहुमत आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले पार्टी सभापतिलाई बलियो बनाउँदै विधिसंवत पार्टी चलाउन आफूहरुको दबाब रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij